विद्युतीय सार्वजनिक यातायात बलियो बनाउने भनेको हो, थप सुविधा दिन्छौः अर्थमन्त्री खतिवडा

काठमाडौं । सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदहरुले विद्युतीय सवारीसाधनको करमा गरेको परिवर्तन गलतभन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको जमेर संसदमा आलोचना भएपछि उनले त्यसको बचाउ गरेका छन् ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकारले महंगा र विलासी गाडीमा केही यूनिट विद्युत खपत हुन्छ भन्दैमा छुट दिन नसकिने प्रस्ट पारेका छन् ।

तर, आम मानिसले प्रयोग गर्ने सार्वजनिक यातायातका साधनमा के गर्न सकिन्छ भन्ने विषयमा आफु सधै लागि पर्ने उनले बताए ।

‘सार्वजनिक यातायातको साधनमा १ प्रतिशत भन्सार शुल्क छ । यसका बाबजुद नीजि क्षेत्र यसमा आकर्षित हुन सकिरहेको छैन । बरु यसमा अझै थप केही दिन सकिन्छ कि भनेर हामीले काम गर्नु पर्नेछ’, खतिवडाले भने ।

यसअघि सबै किसिमका विद्युतीय सवारीसाधनमा एकै किसिमको करका दरहरु थिए । अहिले यसलाई ६ वर्गमा वर्गिकरण गरेर करका दरहरु परिमार्जन गरिएको छ ।

अहिले पनि पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारीमा ५० प्रतिशत भन्सार महशुल कम छ । त्यसैगरि अन्तःशुल्कका दर पनि कम छन् ।

अर्थतन्त्रका समग्र सुचक हेरेर सरकारले यस्तो किसिमको निर्णय गरिएको खतिवडाले दाबी गरेका छन् ।


Back_to_top