२०७७ सालमा तीन अफरोड एसयूभी बीच हुन सक्छ कडा प्रतिस्पर्धा

काठमाडौं । अफरोड एसयूभीको बजारमा अहिले नेपालमा एउटा मात्रै कम्पनीले गाडी बिक्री गर्दै आएको छ । अहिले महिन्द्राको अफरोड एसयूभी थार नेपालमा बिक्री हुँदै आएको मोडल हो । यदी तपाई अफरोड एसयूभी खोज्दै हुनुहुन्छ भने अहिलेसम्म तपाईलाई यो सेग्मेन्टमा अर्को अप्सन छैन ।

अब यो सेग्मेन्टमा अन्य दुई मोडल थप हुने भएका छन् । अहिले कोरोना भाइरसको कारण यी गाडी कहिलेबाट नेपाल आउँछ भनेर अहिले ठ्याक्कै भन्न नसकिएपनि यो सेग्मेन्टमा तीन एसयूभीले प्रतिस्पर्धा गर्ने पक्का जस्तै रहेको छ ।

यो सेग्मेन्टमा महिन्द्रा थारलाई टक्कर दिन सुजुकी जिम्नी र फोर्सको गुर्खा नेपाली बजारमा आउने तयारी गरिरहेका छन् ।

सुजुकीको जिम्नीलाई सिजी मोटोकर्प र फोर्स गुर्खालाई प्राइम कम्पनीले नेपाली बजारमा ल्याउने छ ।

यस्ता छन् अफरोड एसयूभी

नयाँ थार

महिन्द्राले पहिलो पटक सन् २०१० मा सार्वजनिक भएको थारको अहिले नयाँ जेनेरेशन मोडलको तयारी भइरहेको छ ।

अहिले नेपाली बजारमा बिक्री भइरहेको थारमा २.५ लिटर डिजेल इन्जिन लगाइएको छ । यो इन्जिनले १०७.४१ पीएस पावरका साथै २४७ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड म्यानुअल गियरबक्स लगाइएको छ । अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध थार नेपाली बजारमा निकै रुचाइएको मोडल हो ।

फोर्स गुर्खा

फोर्सले गुर्खाको नयाँ जेनेरेशन बजारमा ल्याउने भएको छ । नेपालमा अहिलेसम्म फोर्सका एसयूभी बिक्री सुरु भएको छैन । तर, प्राइम कम्पनीले यसलाई नेपाली बजारमा ल्याउने प्रक्रिया अघि बढाएको बुझिएको छ ।

फोर्स गुर्खामा २.२ लिटर डिजेल इन्जिन लगाइएको छ । मर्सिडिज बेन्जमा उपलब्ध उक्त इन्जिनले १४० बीएच पावर उत्पादन गर्छ । यसमा नयाँ मल्टी लिंक सस्पेन्सन सेटअप, लोरेन्ज ट्रान्सफर केस र अफरोड बिट लगायतका विशेषता दिइएको छ ।

सुजुकी जिम्नी

नेपालको लागि सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्पले यसलाई नेपाल ल्याउने तयारी सुरु गरेको धेरै समय भइसकेको छ । सुजुकीको सब कम्प्याक्ट अफरोड एसयूभी विश्व बजारमा निकै रुचाइएको मोडल हो ।

जिम्नीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०२ एचपी पावर प्रदान गर्छ । यसमा म्यानुअल र अटोमेटिक दुवै गियरबक्स अप्सन दिइएको छ ।


Back_to_top