काठमाडौं । नेपाल सरकारले उपत्यकामा सञ्चालनका लागि ल्याउने भनेको ३ सय विद्युतीय बस वैशाखमा नआउने भएको छ । वैशाख भित्र विद्युतीय बस सञ्चालन गर्ने सरकारको योजना भए पनि हालसम्म ‘स्पेशीफिकेशन’ समेत नबनेको हुँदा बस सञ्चालनमा ढिलाइ हुने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले हालसम्म ‘स्पेशीफिकेशन’ समते निर्माण भइनसकेको बताए । सरकारले किन्ने भनेको बसको क्यापासिटि कति हुने, चार्जिङ कस्तो हुने, अपरेसन मोटालिटि कस्तो हुने भन्ने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए ।
उनकाअनुसार स्पेशीफीकेशन निर्माण अन्तिम चरणमा पुग्नलागेको छ, अब कमिटिले रिपोर्ट बनाएर दिनेकाम बाँकी रहेको छ । रिपोर्ट तयार भएपछि त्यही अनुसारको गाडी खरिद गर्ने प्रकृया सुरु हुन्छ ।
‘सरकारले वैशाखदेखि विद्युतीय गाडी सञ्चालनमा ल्याउने त भनेको छ, तर केही समय लाग्छ, भने जस्तो सजिलो छैन,’ सापकोटाले मेरोअटोसँग भने ।
स्पेशीफीकेशन निर्माण भएपछि सुरुमा कति गाडी ल्याउने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने उनले जानकारी दिए ।
‘सवारीसाधन ल्याएर मात्र संचालन गर्न सकिदैन, त्यसको संचालन मोडालिटी, चार्जिङ स्टेसनलगायतका पूर्वाधार समेत बन्न बाँकी रहेको छ’ भन्दै सापकोटाले भने ‘बस ल्याउनु मात्र ठूलो होइन, त्यसलाई संचालनमा पनि ल्याउनु पर्छ, २÷३ महिना थप समय लाग्न सक्छ’ ।
विद्युतीय बस ल्याउन स्पेशीफीकेशन तयार भएपछि त्यसको टेन्डर प्रकृयामा जानु पर्ने हुन्छ । सरकारले विद्युतीय बस चाडै ल्याउने हो भनेपनि कुनै पनि देशसँग जी–टू–जी डिलबाट बस खरिद गर्न सक्नेछ । तर, हालसम्म बस कस्तो किन्ने भन्ने विषयले नै पूर्णता नपाएको अवस्थामा बैशाखमा बस ल्याउन सकिने अवस्था छैन ।

