सिंहदरवारबाटै सरकारी गाडी हराएपछि…

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसरबाटै सरकारी गाडी हराएको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको स्वामित्वमा रहेको प्रदेश ३-०१-००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो–एस फोर सरकारी गाडी हराएको हो ।

गाडी कुन मितिमा हराएको खुलाइएको छैन । तर, श्रम मन्त्रालयले गत असार १५ गते हराएको गाडी खोजी गरिदिन भन्दै गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौंलाई पत्राचार गरेको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालका सूचना अधिकारी दीपक गिरीले श्रम मन्त्रालयबाट गाडी खोजी दिन भन्दै असार १५ गते पत्र प्राप्त भएको जानकारी दिए । यद्यपि, फेरि १६ गते भेटिएको भनेर अर्को प्राप्त भएको उनले बताए ।

‘हाम्रो शाखामा हराएको गाडी  खाेजिदिन भन्दै असार १५ गते पत्र आएको रहेछ,’ उनले मेरोअटोसँग भने, ‘खोजी कार्य अगाडि बढाउने क्रममै १६ गते फेरि गाडी भेटियो भनेर अर्को पत्र आयो ।’

यस विषयमा बुझ्न पटक पटक श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारी दुवैलाई फोन गर्दा सम्पर्क हुन सकेन ।


Back_to_top