काठमाडौं । टाटाको आइकोनिक एसयूभी सफारीको नयाँ जेनेरेशन मोडल नेपाल आएको छ । सिप्रदी ट्रेडिङले यही हप्ताबाट यसको आधिकारीक विक्री सुरु गर्न लागेको हो ।
टाटाको नयाँ जेनेरेशन सफारी हाइटेक फिचरको कारण अहिले चर्चामा रहेको मोडल हो । सुरुमा टाटा एच फाइभ कै ७ सिट अप्सनको रुपमा आउने भनिएको भएपनि यसलाई कम्पनीले नयाँ जेनेरेशन सफारीको रुपमा बजारमा ल्याएको थियो ।
टाटाको ओमेगा आर्किटेक्चरमा तयार भएको अल न्यू सफारी ल्याण्डरोभरबाट प्रेरित रहेको छ । यसमा प्यासेन्जरको सुविधालाई विशेष जोड दिएर बोस मोड लगाइएको छ । बोस मोडले अगाडि बढेको प्यासेन्जरको सिटको कारण पछाडि बसेको प्यासेन्जरलाई घुँडा ठोक्कीने अवस्था आए पछाडिबाटै अगाडिको सिटलाई मिलाउन सकिने छ ।

टाटाले केही वर्ष अघिसम्म आफ्ना कुनैपनि कारमा सनरुफ दिएको थिएन । पछिल्लो दिनमा कम्पनीले एच ५ र नेक्सनमा सनरुफ दिएको थियो । सफारीमा आईपुग्दा ठूलो पानारोमिक सनरुफ दिएको छ । यसले नयाँ सफारीलाई किनै आकर्षक देखाएको छ ।
नयाँ सफारीमा आईआरए कनेक्ट कार टेक फिचर दिएको छ । यसमा सेफ्टी फिचर, मनोरञ्जन र डाइनोस्टीक फिचर चलाउन सकिन्छ । आरामदायी सिटको प्रयोगले लामो यात्रा गर्दा पनि यात्रुलाई थकान महशुस हुँदैन ।
नयाँ सफारीको ड्यासबोर्ड निकै आकर्षक रहेको छ । ८.८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता फिचर यसमा रहेका छन् ।
नयाँ सफारीमा २.० लिटर डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पिक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।


