नेपाल हिँड्यो प्रिमियम अभतार वान-वान, १५ दिनमा रोड टेष्ट सुरू हुने

काठमाडौं । अभतार ब्राण्डको प्रिमियम एसयूभी वान-वान (११) नेपालको लागि छुटेको छ ।

नेपालका दुई व्यवसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स र एमएडब्ल्यू ग्रुप अन्तर्गतको एमएडब्ल्यू वृद्धि अटोकर्पले संयुक्त रूपमा ल्याउन लागेको उक्त एसयूभी चीनबाट नेपालका लागि शिपिङ गरिएको हो ।

चिनियाँ अटोमोबाइल जायन्ट चांगान, विश्वको सबैभन्दा ठूलो लिथियम आयोन ब्याट्री उत्पादक सीएटीएल र टेक्नोलोजी जाइन्ट हुवावेको संयुक्त प्रयासमा बनेको अभतार वानवान एक अत्याधुनिक इलेक्ट्रीक क्रसओभर एसयूभी हो ।

उक्त गाडी करिब दुई सातामा नेपाल आइपुग्ने र त्यसपछि रोड टेष्ट गरिने आयातकर्ताले जनाएका छन् ।

टेस्लाको मोडल वाईसँग सिधा प्रतिस्पर्धा गर्ने अभतार वान–वानमा स्ट्याण्डर्ड एयर सस्पेन्सन रहेको छ । सन् २०२२ मै चीनमा बिक्री सुरू भएको नेपाल आउने अभतारमा ९०.३८ किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५५५ किलोमिटर चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।

अभतार वान-वान मोडल ७५० हाइभोल्टेज प्लेटफर्ममा बनेको हो । त्यसैले यसले २४० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई १० मिनेट चार्जगर्दा २०० किलोमिटर रेन्ज टपअप गर्न सकिन्छ ।

अभतार वान वानको इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन दिएको छ । पछाडि बस्ने यात्रुको लागि छुट्टै १०.२५ इन्चको डिस्प्ले स्क्रीन समेत दिइएको छ । यसमा प्रयोग भएका सबै स्क्रीनहरू हुवावेको सफ्टवेरले संचालन गर्छ ।

प्रिमियम एसयूभीमा २ वटा वायरलेस मोबाइल चार्जिङ प्याड, रोड न्वाइज क्यान्सिलेसन तथा एक्टिभ साउण्ड इनह्याचमेन्ट सिस्टम सहितको १४ वटा स्पीकर पाउन सकिन्छ ।

हुवावेको जोयन्ट भेन्चरमा बनेकाले यो ईभीमा टेक्नोलोजीको प्रयोग भरपुर गरिएको छ । यसमा ३४ वटा फरक सेन्सर छ, जसले कम्प्लेक्स इन्टेलीजेन्ट ड्राइभलाई सहज बनाउँछ ।

अभतार वान-वान ईभीमा ३ वटा लाइडार रहेको छ । जसले हाइवे ड्राइभ र साँघुरा बाटाहरूमा पनि चालकलाई कुनै समस्या हुँदैन ।

चांगानको अभतार वान वानमा २३० किलोवाटको रियर ह्वील ड्राइभ मोटर रहने छ । सीएचएन प्लेटफर्ममा बनेको एसयूभीको लम्बाइ ४८८० एमएम, चौडाइ १९७० एमएम, उचाइ १६०१ एमएमको तथा ह्वीलबेस २९७५ एमएम छ ।


Back_to_top