विद्युतीय सवारीको ब्याट्री व्यवस्थापन मुद्दामा के गर्दैछन् आयातकर्ता ?

काठमाडौं । विद्युतीय सवारी (ईभी) आयातकर्ताहरूले धमाधम ब्याट्री व्यवस्थापनको योजना पेश गर्न थालेका छन् । आर्थिक विधेयक २०८० मा गरिएकाे व्यवस्था अनुसार उनीहरूले ब्याट्री व्यवस्थापनको आफ्नो योजना सरकार समक्ष पेश गरेका हुन् ।

यद्यपि, उनीहरूले सरकारी कार्यालयलाई बुझाएको प्रस्ताव केही ब्राण्ड बाहेक अरुले सार्वजनिक गरेका छैनन् । विद्युतीय गाडी सबैभन्दा धेरै आयात हुने मध्येको एक भन्सार कार्यालय रसुवाका प्रमुख रामप्रसाद पाठकका अनुसार आयातकर्ताले ब्याट्री व्यवस्थापन सम्बन्धी प्रस्ताव पेश गरेपछि मात्रै आयात गर्न पाउँछन् ।

‘वर्षमा एक पटक आयातकर्ता कम्पनीले ब्याट्री व्यवस्थापन योजना बुझाउनु पर्ने हो । रसुवा भन्सारबाट गाडी ल्याउने सबै कम्पनीले बुझाएका छन् । तर, कसको प्रस्तावमा के छ भन्ने विषय ठ्याक्कै भन्न सकिँदैन,’ भन्सार कार्यालय प्रमुख रामप्रसाद पाठकले मेरोअटोसँग भने ।

उनका अनुसार धेरै कम्पनीले रि-साइकलिङको लागि पठाउने योजना प्रस्ताव गरेका छन् । केही कम्पनीले ब्याट्री नै फिर्ता पठाउने योजना पनि दिएका छन् ।

ब्याट्री ब्यवस्थापन सम्बन्धी योजना कम्पनीहरुले पेस गरेको नाडाका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ बताउँछन् । उनि भन्छन्, ‘सरकारले ल्याएको नीति निजी क्षेत्रले कार्यान्वयन गर्नुपर्छ । हामीले ब्याट्री ब्यवस्थापनको योजना नदिएसम्म त गाडी आयात गर्न नै पाइदैन । सबै कम्पनीले ठोस योजना दिइरहेका छन् ।’

भन्सार कार्यालयमा बुझाएको प्रस्ताव सम्बन्धित आयातकर्ता कम्पनीको वेबसाइटमा राख्नु पर्ने प्रावधान छ ।

आर्थिक विधेयक २०८० मा लेखिएको छ, ‘विद्युतीय सवारी तथा ढुवानी साधन पैठारी गर्ने वा त्यस्तो साधनमा प्रयोग हुने ब्याट्रीको पैठारीकर्ताले आफूले पैठारी गरेको साधनमा प्रयोग भएको वा आफूले बिक्री गरेको ब्याट्री क्रेताबाट फिर्ता लिने तथा त्यस्तो ब्याट्रीको व्यवस्थापनसँग सम्बन्धित उपयुक्त योजना वर्षको एक पटक भन्सार कार्यालयमा पेशगरी सम्बन्धित पैठारीकर्ताको वेबसाइटमा समेत राख्नु पर्नेछ । त्यस्तो योजना पेश नगर्ने पैठारीकर्ताले विद्युतीय सवारी तथा ढुवानीको साधन पैठारी गर्न पाउने छैन ।’

भन्सार विन्दुमा यस्तो घोषण नभइकन गाडी आयात नै गर्न नसकिने सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले बताए ।

‘सरकारले भनेको विषय कार्यान्वयन गर्नु आयातकर्ताको दायित्व हो । हामीले ल्याएका सबै ब्राण्डको ब्याट्री व्यवस्थापन योजना प्रस्तुत गरेका छौं । साथै, सीजी मोटर्सले आफ्नो वेबसाइटमा पनि यसलाई राखेको छ,’ सीईओ अग्रवालले भने ।

यद्यपि, धेरै कम्पनीले सहजै भेटिनेगरी आफ्नो योजना वेबसाइटमा भने राखेका छैनन् ।


Back_to_top