हुलाकी राजमार्ग निर्देशनालयले तोड्यो माडी-ठोरी सडकखण्डको पुलको ठेक्का

काठमाडौं । हुलाकी राजमार्ग निर्देशनालयले वर्षैंदेखि अलपत्र चितवनको माडी-ठोरी सडकखण्डमा पर्ने पटारी खोला पुलको ठेक्का सम्झौता तोडेकाे छ ।

निर्देशनालयको योजना कार्यालय वीरगंजले शुक्रबार उक्त पुलको ठेक्का तोडिएको जानकारी दिएको हो ।

४१ मिटर लामो पुल निर्माणको ठेक्का पाएको लोहनी एण्ड ब्रदर्श प्रालिले वर्षैंसम्म काम नगरेपछि ठेक्का तोडिएको हो ।

आयोजना निर्देशनालयका अनुसार कम्पनीलाई पटक पटक काम गर्न ताकेता गरिए पनि सम्पर्कमा नआएकाले ठेक्का तोडिएको हो । कम्पनीलाई सोधिएको १५ दिने स्पष्टीकरणको समेत जवाफ नदिएको आयोजनाले जनाएको छ ।

ठेक्का तोडिएकाले अब सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (८) बमोजिम कार्य सम्पादन जमानत जफत गर्ने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्देशनालयले जनाएको छ ।

साथै हालसम्म अद्यावधिक काम र बाँकी कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय फरफारख गर्न आजको मितिले १५ दिनभित्र उपस्थित हुन पनि भनिएको छ । यदि निर्माण व्यवसायी वा निजको प्रतिनिधि उपस्थित नभएमा कार्यालयबाट नापजाँच हुने सूचनामा उल्लेख छ ।


Back_to_top