लामो दूरीका बसको रुट इजाजत अब बसपार्कसम्म मात्रै

काठमाडौं । काठमाडौं उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारी साधनको रुट इजाजत अब गोंगबु बसपार्कसम्म मात्रै कायम हुने भएको छ ।

यातायात व्यवस्था विभागले उपत्यका प्रवेश गर्ने सार्वजनिक यात्रुवाहक सवारीसाधनको रुट इजाजत बसपार्कसम्म मात्र कायम गर्न सातै प्रदेशका यातायात मन्त्रालयहरूलाई परिपत्र गरेको हो ।

विभागले अन्तर प्रदेश चल्ने सवारीको रुट इजाजत बसपार्कसम्म मात्रै दिँदै आएको छ । तर, प्रदेश मातहतका कार्यालयहरूले काठमाडौंका विभिन्न ठाउँसम्मको रुट इजाजत दिँदै आएका छन् । जसकारण उपत्यकामा ट्राफिक जाम बढेपछि अब प्रदेशले दिने लामो दुरीको रुट इजाजत पनि बसपार्कसम्म मात्र दिन भनिएको हो ।

विभागका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने सार्वजनिक सवारी साधन अब कलंकी–सीतापाइला हुँदै गोंगबु बसपार्कसम्म मात्र आउन पाउँछन् । उपत्यका बाहिर जाँदा पनि बसपार्कबाट मात्रै छुट्नुपर्नेछ ।

त्यस्तै, उपत्यका बाहिरबाट बनेपासम्म चल्ने सार्वजनिक यात्रुहरूले कलंकी–सातदोबाटो र कोटेश्वर हुँदै बनेपासम्म आउन जान पाउँछन् ।

विभागले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई  समेत पत्राचार गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा सवारी जाम बढेपछि विभागलाई रुट परमिटबारे पुनर्विचार गर्न आग्रह गर्दै आएको थियो । लामो दूरीका सवारीले पनि जथाभावी यात्रु चढाउने ओराल्ने गर्दा जाम बढ्ने गरेको ट्राफिकको भनाइ छ । ट्राफिक प्रहरीले पछिल्लो समय लामोदूरीका बस माथि कडाइ गर्दै आएको छ ।


Back_to_top