पिक आवरमा सुन्धाराबाट १ मिनेटमा ९९ मोटरसाइकल रत्नपार्कतर्फ

काठमाडौं । भरपर्दो सार्वजनिक यातायात नहुँदा काठमाडौं उपत्यकामा साना सवारी अर्थात् मोटरसाइकल प्रयोगकर्ताको संख्या दिन–दिनै बढ्दै गइरहेको छ । सहज र समयमै गन्तव्य पुग्न मोटरसाइकल नै उपयुक्त रहेको छ । 

बाटो साँघुरो हुँदा पनि मोटरसाइकल प्रयोगकर्ताको संख्या बढेको हो । हालै काठमाडौं महानगरपालिकाले नगर भित्रका मुख्य चोकमा पिक आवरमा कति मोटरसाइकल गुड्छन् भनेर अध्ययन गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले गरेको अध्ययन अनुसार पिक आवर विहान ९ देखि ११ बजेसम्म सुन्धाराबाट रत्नपार्कतर्फ प्रति मिनेट ९९ वटा मोटरसाइकल जान्छन् । 

सो बाटोमा एक मिनेटमा ९९ मोटरसाइकल गुड्दा ५९ वटा गाडी गुड्ने तथ्यांक महानगरपालिकाको अध्ययनले देखाएको छ । पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म  ११ हजार १ सय ८२ मोटरसाइकल र ७ हजार ७ सय ३७ वटा गाडी तथा साँझ १२ हजार ७ सय २० मोटरसाइकल र ६ हजार ४ सय ७ गाडी गुड्ने तथ्यांक छ ।  

त्यस्तै रत्नपार्क–भद्रकाली सडकमा एक मिनेटमा ८४ मोटरसाइकल र ५० गाडी गुड्छन् । बिहान ९ हजार ९ सय ९७ मोटरसाइकल र ५ हजार ७ सय ६९ गाडी गुड्छन् भने साँझ १० हजार ६ सय ३२ मोटरसाइकल र ६ हजार ३ सय ७३ वटा गाडी गुड्छन् ।


Back_to_top