काठमाडौं । चीन सरकारले विद्युतीय साधनमा दिँदै आएको उत्पादनमा आधारित अनुदान कटौती गर्ने भएसँगै न्यू इनर्जी भेहिकलको बिक्रीमा उच्च गिरावट आउने प्रक्षेपण भएको छ ।
चाइना प्यासेन्जर कार एसोसिएसनका महासचिव कुई डोङ्शुले आफ्नो विच्याट एकाउन्टमा सन् २०२५ को चौथो त्रैमासिकको तुलनामा २०२६ को पहिलो त्रैमासिकमा नयाँ ईभीको माग ३० प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेका हुन् । उनले त्यसको असर लिथियम ब्याट्री उत्पादकमा पनि पर्ने जनाएका छन् ।
कार उत्पादकहरूले सन् २०२५ को अन्तिममा ठूलो परिमाणमा कार उत्पादन गरेर बजारमा पठाएको कारण पनि नयाँ वर्षको सुरुवातमा कारको बजार कमजोर हुने महासचिव कुईले दाबी गरेका छन् ।
चीनमै कमजोर भए पनि बाहिर ब्याट्रीको माग उच्च रहने भएको कारण ब्याट्री निर्माताहरूले निर्यातलाई जोड दिन सक्ने कुईको धारणा थियो । चीनबाट युरोपियन र अमेरिकी कार निर्माताहरूले ब्याट्री खरिद गर्नेछन् ।
निरन्तर न्यू इनर्जी भेहिकल र हाइभोल्टेज ब्याट्रीको माग चीनमा बढ्दै गएको थियो । सरकारले दिने अनुदानमा कटौती गर्ने घोषणा यसअघि नै गरेको कारण कार निर्माताहरूले पनि त्यसको तयारी भइरहेको यसअघि नै जनाएका थिए । ठूला कार निर्माताले आफैँ मूल्य कटौती गर्ने योजना समेत अगाडि बढाएका छन् ।

