अदालतले ‘स्टे अर्डर’ दिएको छ, थप कानुनी प्रक्रियामा जान्छौं : डा. रुप ज्योतिको अन्तर्वार्ता

काठमाडौं । नेपाल जनरल मार्केटिङ (एनजीएम)ले नेपालमै हिरो ब्राण्डका मोटरसाइकल एसेम्बल गर्न सुरू गरेको छ । सरकारले अन्तःशुल्कमा ५० प्रतिशत छुट दिएसँगै स्वदेशमै दुईपाङ्ग्रे सवारीसाधन एसेम्बली हुन थालेको हो ।

गत वर्ष सरकारले १५० सीसी माथिका सवारीसाधन अयातमा प्रतिबन्ध लगाएपछि चर्चित ब्राण्डहरूले नेपालमै धमाधम एसेम्बल प्लान्ट स्थापना गर्न थाले । सोहीक्रममा, हिरोले पनि वीरगंजको परवानीपुरमा आफ्नो प्लान्ट स्थापना गरी मोटरसाइकल एसेम्बल सुरु गरेको हो ।

यसैबीच, पछिल्लो समय हिरोको आधिकारिक वितरक एनजीएमसँगको सम्झौता तोड्ने निर्णय गरेको छ । हिरोको सो निर्णयबाट आफू अन्ययामा परेको भन्दै एनमजीले अदालतमा मुद्दा समेत हालेको छ । अदालतले तत्काल डिलरशिप नखोस्न अन्तरिम आदेश जारी गरेको छ ।

हिरो मोटरसाइकलको एसेम्बल प्यान्ट, डिलरशिप खोसिने अवस्था, भविष्यका योजना लगायत विषयामा एनएमजीका अध्यक्ष डा. रुपज्योतिसँग  मेराेअटाेले गरेको कुराकानीको सम्पादित अंशः

चर्चित ब्राण्ड हिरो अहिले नेपालको बजारमा सुस्ताउँदै गएको देखिन्छ । अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसकेर कि अरू कुनै कारणले ?

नेपालमै एसेम्बल गर्न नसकेका कारण हामी केही हदसम्म पछाडि परेको पक्कै हो । नेपालमा हाल सवारी एसेम्बल गर्ने कम्पनीहरूले सरकारले दिएको छुट समायोजन गर्दै ग्राहकलाई पनि सहुलियत दिएका छन् । तर, हामीले प्लान्ट नहुँदा सो सुविधा दिन सकेनौं । जसले ग्राहकमा अरू कम्पनी प्रतिको आकर्षण केही बढ्दै गएको देखिन्छ ।

हाम्रो मुख्य चिन्ता डिलरशिपको भन्दा पनि कर्मचारीको हो । एनजीएम अन्तर्गत मात्रै देशभरमा ५४७ कर्मचारी छन् । डिलर, वर्कसप, वेयर हाउस लगायत गरी १५०० बढीले रोजगार पाइरहेका छन् । डिलरशिप हट्यो भने ती सबैको रोजगारी गुम्छ ।

प्रतिस्पर्धी बजारमा अहिले ग्राहक तान्न अन्य कम्पनीहरूले स्पेयर पाट्र्समा छुटका साथै विभिन्न स्कीम र डिस्काउन्ट अफर ल्याएका छन् । जुन ग्राहकले समेत रुचाएका छन् । तर, पछिल्लो /३ वर्ष यता हामीले ग्राहको रोजाई अनुसारको सुविधा दिन सकेनौं । जसकारण हामी पछाडि पर्दै गयौं ।

अब हामीले नेपालमै एसेम्बल गर्न सुरू गरेका छौं । प्लान्टका लागि आवश्यक प्रविधि, उपकरण दक्ष जनशक्ति लगायत सबैको व्यवस्थापन गरिसक्यौं । हालसम्म १२०० यूनिट सवारी एसेम्बल गरिसक्यौं । अब हामीले पनि अन्य ब्राण्डकै जस्तो ग्राहकलाई आकर्षक सुविधा र अफरहरू दिन सक्छौं ।

यद्यपि, हालसम्म उद्योगलाई पूर्ण क्षमतामा संचालनमा ल्याउन सकेका छैनौं । पहिलो लटको उत्पादन सकेर दोस्रो लटको उत्पादन सुरु गर्ने तयारीमा छौं । तर, जब हामी प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्यौ, त्यही बेला अनेक बाहानामा डिलरशिप खोस्ने चर्चा चलेको छ । भारतीयले अहिले सीकेडीको मूल्य वृद्धि गरेर मात्रै हामीलाई उपलब्ध गराउँछौं भनेका छन्, हामीले मानेका छैनौं । यसमा हामीले जे अडान लिएका छौं, त्यही कारण कम्पनीले आफ्नो डिलरशिप खारेज गर्ने भन्ने निर्णयमा पुगेको छ ।

हिरोको डिलरशिप खोसिने विषयमा हरेक २/३ वर्षमा चर्चा चल्ने गरेको छ । यो किन भइरहेको हो ?

व्यवसायमा जुन बेनिफिट छ, त्यो बेनिफिट हामीलाई पनि सेयर गर्नुस् भन्न नसकेर बारम्बार डिलरशिप खारेज गर्नुपर्छ भन्ने चर्चा गरिदै आएको हो । अहिले पनि नाफा सेयरिङकै विषयामा डिलर खारेजको चर्चा चलेको हो । तर, भारतीयले भने हाम्रो पर्फमेन्स राम्रो नभएको भन्दै डिलरशिप खारेजको बाहना बनाएका हुन् ।

बजारका अन्य प्रतिस्पर्धीको तुलानमा तपाईंहरुले व्यापार निकै खस्केको छ भन्छन् । अवस्था के हो ?

कोभिडपछि मात्रै हामीले ७० हजार यूनिट विक्री गरेका छौं । त्यसैले कम्पनीको जब डिलरशिप मिट भएको थियो, कोभिडपछि निकै राम्रो व्यापार भएको भन्दै कम्पनीले नेपालको उदाहरण समेत दिएको थियो । हामीले विभिन्न स्कीम र अफर ल्याएर निकै राम्रो व्यापार गरेका थियौं ।

हाम्रो व्यापार व्यवसाय निकै राम्रो छ । किनकी भारतको हकमा चल्न नसकेको एक्सपल्स बाइक अन्य देशमाभन्दा हामीले धेरै युनिट बेच्यौं । मार्केटिङको कुरामा हामीले कुनै कम्परमाइज गरेका छैनौं ।

हिरो र होन्डा छुट्टिँदा तपाईँले हिरो रोज्नु भयो । अहिले हिरोले नै तपाईंको डिलरशिप खोस्दै छ, किन होला ?

मुन्जाल परिवारसँगको लामो सम्बन्धका कारण हिरो छानेको हुँ । सुरूका दिनमा निकै मेहेनत गर्यौ । उक्त समयमा हिरोले स्कुटर सेग्मेन्टमा नयाँ मोडलहरू ल्याउन सकेको थिएन । विश्व बजारमा विद्युतीय स्कुटरको आकर्षण बढ्दै जाँदा समेत हिरोले आफ्नो उत्पादन ल्याएको थिएन । आफू नयाँ मोडल र उत्पादन नल्याउने अनि हामीले राम्रो व्यापार गर्दागर्दै पनि दोष पर्फमेन्सलाई लगाइएको छ ।

अर्को कुरा जब हिरो होन्डासँगै थियो, उक्त समयमा सबै एक्सपोर्ट मार्केट होन्डाले हेर्दै आएको थियो । हिरो होन्डा नाम भएका कारण हामी हिरोको डिलर होइन होन्डाको डिलर हो भन्ने बुझाई थियो । सो समयमा हामीले हिरो होइन होन्डा जापानसँग सम्झौता गर्दै व्यापार व्यवसायलाई अगाडि बढाउँदै आएका थियौं ।

तर, जब हिरो र होन्डा छुट्यो, त्यो बेला हिरो होन्डाको १४ वटा आफ्नो उत्पादन लाइनअप थियो । यसका लागि कम्पनीले आवश्यक सवारीको उत्पादनसँगै त्यसको प्रोटोटाइप निर्माण, रिसर्च र डेभलपमेन्टको काम सबै सकेर कम्पनीको उत्पादन मार्केटमा आउन मात्र बाँकी थियो ।

यसमा पछि कम्पनीले यी उत्पादन भारतीय बजारका लागि मात्रै निर्माण गरिएको र अन्य देशमा लैजान पाइँदैन भन्ने निर्णय गर्यो । सो समय स्प्लेन्डर, प्लेजर लगायतका सवारी मात्र विक्री हुँदै आएका थिए । पछिल्लो पटक विकास गरिएका १४ मोडलका सवारी पनि नेपाल ल्याउन पाइएन ।

जब हिरो र होन्डा छुट्टिए, त्यो बेला अन्य देशका डिलरशिपहरूले पनि हिरोलाई रोजेका थिएनन् । अधिकांशले होन्डा रोजेका बेला पनि मैले हिरो रोजेको थिएँ । तर, बिडम्बना अहिले पर्फमेन्स भएन भनेर आरोप लगाइँदै छ ।

छुट्टिएपछि हिरोले ३ वर्षसम्म कुनै नयाँ मोडल नेपाली बजारमा दिएन । त्यो बेला व्यापार गर्न निकै कठिन भएको थियो । त्यसपछि केही नयाँ उत्पादन आउन थाले पनि हरेक जसोमा केही नकेही त्रुटी हुने गरेका थिए । ड्यास स्कुटरमा पेट्रोल हाल्दा सिट उचाल्नु नपर्ने त थियो तर, पछाडिको क्यापमा ४ वटा स्प्रिङ हुँदा क्याप खोल्न समस्या हुने गर्थ्यो । पछि हामीले त्यसलाई पनि सच्याइयौं । अधिकांशमा हिरो इन्डियन ब्राण्ड भन्ने बुझाई थियो । अनेक समस्याका बाबजूद हामीले नेपालमा हिरो ब्राण्ड स्थापित गरेका थियौं ।

नेपालमा हिरोले आफ्नो एसेम्बल प्लान्ट पनि स्थापना गरिसकेको अवस्थामा डिलरशिप परिवर्तनको कुरा आउनुलाई कसरी लिनु भएको छ ?

जापनीज कम्पनीहरुको विशेषता भनेको उनीहरूले एकपटक लगानी गरेपछि कालान्तरसम्म हुन्छ । उनीहरूले ब्राण्डका लागि अर्बौं लगानी गर्छन् । तर, भारतीय ब्राण्डको त्यस्तो नहुँदो रहेछ ।

अहिले हामीले हिरोका सय बढी आउटलेट बनाएका छौं । त्यस्तै, दर्जनौं स्पेयर पार्टस आउटलेट र वर्कसपहरू संचालनमा ल्याएका छौं । अहिले प्लान्ट समेत संचालनमा ल्याएका छौं । यो सबै खडा गर्न हामीलाई ४० वर्ष लागेको छ । यसमा हाम्रो करोडौं रुपैयाँ र ठूलो मेहनत लगानी परेको छ ।

यस्तो अवस्थामा हिरो ब्राण्डले आफनो डिलरशिप फिर्ता लिए हामीलाई त ठूलो नोक्सानी हुन्छ नै । हिरोलाई समेत ठूलो घाटा लाग्ने छ । करिव ५ लाख ग्राहकले समेत धेरै सास्ती व्यहोर्नुपर्ने अवस्था सृजना हुन्छ ।

यदि हिरोले आफ्नो डिलरफिर्ता लिए हामीले कुनै नयाँ ब्राण्डसँग सहकार्य गर्न सजिलै सक्छौं । पछिल्लो समय बजारमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दो छ । अहिले विभिन्न ब्राण्डहरूले डिलरशिपको प्रस्ताव गरेका छन् । ईभीतर्फ नै हामी अगाडि बढ्ने योजना छ । हामी नयाँ ब्राण्डको मार्केटिङ, नेटवर्क र अन्य सेटअपसँगै व्यवसायलाई अगाडि लिएर जानेमा दुईमत छैन ।

अनि एसेम्बल प्लान्ट के गर्नुहुन्छ त ? आगामी योजना के छ ?

हामीले अहिले जुन एसेम्बल प्लान्ट स्थापना गरेका छौं, त्यसले हामी नेपालमै सवारी उत्पादन गर्न सक्छौँ भने पुष्टि भइसकेको छ । केही समयमै अन्य कुनै पनि ब्राण्डसँग सहकार्य गरेर सवारी उत्पादन थाल्ने छौं ।

भारतीय कम्पनीको डिलरशिप किन परिवर्तन किन भइरहँदो रहेछ ?

भारतीयहरुको नेपाली बजारलाई हेर्ने नजर फरक छ । भारत जस्तो ठूलो देशमा सयौं संख्यामा डिलरशिप लिएका हुन्छन् । एक/दुई वटा बन्द/परिवर्तन भए पनि फरक पर्दैन । तर, नेपालको बजार भारतको भन्दा फरक छ । उनीहरूले सोचेभन्दा निकै फरक प्रकृतिको छ । जसले व्यापार व्यवसायमै ठूलो प्रभाव पार्दछ । उनीहरूको बजारलाई हेर्न दोषी नजर नै डिलरशिप परिवर्तनको मुख्य कारण हो ।

डिलरशिप फिर्ता भएमा हिरोका स्टक सामानहरू के हुन्छ त ?

हाल नेपालमा स्टकमा रहेका दुईपाङग्रे सवारीसाधन आजको भोलि नै बिक्री गर्ने अवस्था छैन । हामीसँग भएको स्टक सामान दशैंसम्म बेच्न सक्छौं । हामीले अहिले अदातलमा मुद्दा लडेर स्टे अर्डर समेत पाइसकेका छौं । आगामी दिनमा हामी हिरोसँग कानुनी प्रक्रियामै अगाडि बढ्छौं ।

आगामी दिनमा हिरोले सहकार्य नगरेको अवस्थामा अरू ब्रान्डसँग सहकार्य गर्दै आफ्नो व्यवसाय अगाडि बढाउने छौं ।

यदि, सवारी साधन विक्री वितरण गर्न नसक्ने अवस्था सृजना भएमा हामीले अहिले गर्दै आएका स्टील, हस्पिटल लगायत अन्य व्यवसायलाई निरन्तर अगाडि बढाउँछौं ।

हाम्रो मुख्य चिन्ता डिलरशिपको भन्दा पनि कर्मचारीको हो । एनजीएम अन्तर्गत मात्रै देशभरमा ५४७ कर्मचारी छन् । डिलर, वर्कसप, वेयर हाउस लगायत गरी १५०० बढीले रोजगार पाइरहेका छन् । डिलरशिप हट्यो भने ती सबैको रोजगारी गुम्छ ।


Back_to_top