काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणका लागि लगानी प्रस्ताव आएको छ । २०७५ चैत्र १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलन पस्तुत गरिएको उक्त रेलवे निर्माणका लागि एउटा कम्पनीले इच्छा देखाएको हो ।
लगानी बोर्डका अनुसार सो योजनाका लागि ३ खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । पूर्व–पश्चिम रेलमार्गको लम्बाई ९ सय ४५ किलोमिटर हुने छ ।
उक्त विद्युतीय रेल प्रतिघण्टा २ सय किलोमिटरको सफ्तारले गुड्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसका लागि रेलको इन्जिनमा ३० देखि ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पूर्व–पश्चिममा ९ सय ४५ किलोमिटरको विद्युतीय रेल गुडाउन ३० मेगावाट बिजुली आवश्यक पर्ने छ ।
लगानी बोर्डले कुन कम्पनीले लगानीमा इच्छा देखाएको हो भन्ने कुरा भने बाहिर ल्याएको छैन । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले रेलमार्ग निर्माण, पानी जहाज संचालन जस्ता विषयलाई निकै जोड दिदै आएका छन् ।

