ईभी ट्याक्सी र स्कुटर भाडामा लिन छुट्टै एप, १४ करोडमा बन्यो ‘ईड्राइभ नेपाल’

काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रीक सवारीसाधनलाई समेटेर राइड शेयरिङ एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । ईड्राइभ नेपाल प्रालिले संचालनमा ल्याएको राइड शेयरिङ सेवामा १४ करोड रुपैंया लगानी भएको कम्पनीले जानकारी दिएको हो ।

एससँगै कम्पनीले इलेक्ट्रीक ट्याक्सी र स्कुटर किनेर सेवा शुरु गरेको हो । अन्य प्लेटफर्मभन्दा सस्तो, सबै नयाँ गाडी, दुर्घटना बीमा, ओपिटी प्रणाली र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

गत बिहिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा उद्घाटन कार्यक्रम राखेर ४० वटा नयाँ इलेक्ट्रीक ट्याक्सी एकै पटक संचालनमा ल्याइएको थियो । त्यसमध्ये कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याएको हो । चाँडै थप १०० वटा ट्याक्सी सञ्चालनमा ल्याउने जनाएको छ ।

ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केका अनुसार नयाँ ट्याक्सी एक महिना भित्रै संचालनमा आउने छन् । ईड्राइभ एपको भाडा अन्य सवारी सेवाभन्दा सस्तो रहेको उनको भनाइ थियो ।

ईड्राइभ सेवामा वान टाइम पासवर्ड (ओटिपी) प्रणालीको प्रयोग गरिएको छ । जसले सेवाग्राही र चालक बीच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ ।

त्यस्तै ईट्याक्सीमा जीपीएस जडान गरिएको छ । यसले गर्दा आफ्नो सवारी साधनको सम्पूर्ण नियन्त्रण ईड्राइभ कम्पनीसँग हुनेछ । यसले सेवाग्राहीलाई थप ढुक्क बनाउने कम्पनीको भनाइ छ ।

त्यस्तै कम्पनीले आफ्नै ’फास्ट चार्जिङ स्टेशन’ बनाएको छ । जहाँ पार्किङ लट सहित ट्याक्सी र स्कुटरहरू चार्ज गर्न सकिन्छ ।

ईड्राइभ नेपालले महिला चालकहरूलाई विशेष सहुलियत प्रदान गर्ने जनाएको छ । साथै, आफैँ गाडी मालिक बन्नेहरुका लागि समेत डाउन पेमेन्ट बापतको रकम कम्पनीले तिरिदिने योजना ल्याएको कम्पनीको भनाइ छ ।


Back_to_top