काठमाडौं । लाइट कमर्शियल सेग्मेन्टमा उपलब्ध विद्युतीय माइक्रो भ्यान एक दर्जन बढी ब्राण्डले नेपाल ल्याएर बिक्री गर्न थालेका छन् । विशेषगरी, सीजी मोटर्स, एमएडब्लू वृद्धि, दिगो, त्रिबेणी समूह, विशाल ग्रुप जस्ता कम्पनी माइक्रो भ्यानमा प्रतिस्पर्धा गरिरहेको भएपनि सीजी निकै अगाडि देखिन्छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ५१४ यूनिट विद्युतीय माइक्रोबस आयात भएका छन् । यसरी आयात भएको माइक्रो बसमा सीजी मोटर्स निकै बलियो देखिन्छ । साउन र भदौ महिनामा सीजी मोटर्सले सबैभन्दा धेरै ११ सिट क्षमताको केवाइसी भ्यान आयात गरेको देखिन्छ । कम्पनीले दुई महिनामा २४९ यूनिट केवाइसी भ्यान आयात गरेको हो ।
दोस्रो धेरै आयात पनि सीजीकै किङलङ मोडल भएको छ । साउनमा ७८ यूनिट किङलङ आयात भएकोमा भदौमा १०० यूनिट सहित १७८ यूनिट किङलङ आयात भएको हो ।
तेस्रो स्थानमा एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको फोटोनको माइक्रो भ्यान छ । कम्पनीले दुई महिनामा ९३ यूनिट फोटोनका भ्यान आयात गरेको हो । यी तीन मोडल बाहेक दुई महिनाको अवधिमा डोङफेङ ई-३२ मोडल १२ यूनिट, जोइलङ ३ यूनिट र अन्य ९ यूनिट भ्यान आयात भएका छन् ।