काठमाडौं । सरकारले विद्युतीय साधन (ईभी)मा कर बढाउँदै छ भन्ने हल्लाका कारण चालु आवको ४ महिना (पुस, माघ, वैशाख र जेठ)मा रेकर्ड स्तरमा ईभी आयात भएको देखिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ११ महिना (जेठसम्म) कुल ११ हजार ४६६ युनिट विद्युतीय कार तथा भ्यान आयात भएको छ । तीमध्ये पुस, माघ, वैशाख र जेठ ४ महिनामा मात्रै ६० प्रतिशत (६ हजार ८४६ युनिट) ईभी आयात भएका हुन् ।
चाडपर्वको महिना भनेर चिनिने भदौ, असोज र कात्तिक महिनामा कुल २ हजार ६७७ युनिट विद्युतीय साधन आयात भएको थियो । जस मध्ये भदौमा ७८८, असोजमा १२३७ र कार्तिकमा ६५२ युनिट मात्रै आयात भएको थियो ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको अर्धवार्षिक समीक्षा मार्फत ईभीमा कर बढाउने हल्ला फैलिएसँगै पुस र माघमा गरेर २ हजार ४७२ युनिट विद्युतीय कार र भ्यान आयात भएकाे थियाे । जसमा पुसमा १ हजार ४२१ र माघमा १ हजार ५२ युनिट आयात भएको थियो ।
बजेट आउनु अघिल्लो महिना वैशाखमा १ हजार ४०४ र जेठ महिनामा (बजेट अगाडि) २ हजार ९६९ युनिट विद्युतीय कार आयात भएको हो । वैशाख र जेठको कुल आयात ४ हजार ३७३ युनिट भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
चालु आर्थिक वर्षमा सबैभन्दा कम गाडी साउनमा ११० युनिट, फागुनमा २७६ युनिट, चैतमा ६५८ युनिट र मंसिरमा ८९९ युनिट आयात भएको थियो ।
सरकारले कर वृद्धि गर्ने हल्लाको बीचमा छुटेका सवारीसाधन अहिले धमाधम बिक्री भइरहेका छन् । आयातकर्ता कम्पनीहरूले बजेट अगाडि छुटाएका गाडी पुरानै मूल्यमा ग्राहकलाई दिइरहेका छन् ।
समग्रमा ११ महिनाको आयात हेर्दा कर बढ्ने हल्ला भएको ४ महिना पुस, माघ, वैशाख र जेठको आयात ६ हजार ८४६ युनिट रहेको छ ।