डलरको कारण ‘नेटा भी’को मूल्य बढ्दैन : हेमन्त अग्रवालको अन्तर्वार्ता

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाली बजारमा विद्युतीय कारको विक्री सुरू गरेको ५ महिना हाराहारी भएको छ । चिनियाँ स्टार्टअप कम्पनी होजोन अटोले उत्पादन गरेको नेटा भी क्रसओभर कार नेपाल ल्याएर विक्री सुरू गरेको कम्पनीले अर्को भारतीय स्टार्टअप कम्पनी ओलाले उत्पादन गरेको इलेक्ट्रीक स्कुटर नेपाल ल्याइसकेको छ ।

लाइट कमर्शियल भेहिकलको पनि विक्री सुरू गरेको सीजी मोटर्सले मल्टी ब्राण्ड शोरुमको कन्सेप्टमा सबै किसिमको सवारीसाधन विक्री गर्ने योजना बनाएको छ । आउँदै गरेका प्रोडक्ट, चार्जिङ पूर्वाधार, कम्पनीको नयाँ योजना लगायतका विषयमा मेरोअटोले कम्पनीको सीईओ हेमन्त अग्रवालसँग गरेको कुराकानीको सम्पादीत अंश :

चिनियाँ स्टार्टअप कम्पनी होजोनले उत्पादन गरेको नेटा भीसँगै सीजी मोटर्स ईभी विजनेशमा प्रबेश गरेको छ । कस्तो रह्यो सुरूवाती दिन ?

अहिले बल्ल नेपालमा ईभीको चर्चा बढ्न थालेको छ । सरकारदेखि उपभोक्तासम्मको चासो ईभीमा बढ्न थालेपछि समयानुकूल प्रोडक्ट र सर्भिस दिन हामी ईभीको बजारमा प्रवेश गरेका हौं । सरकारले ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने निजी कारको आयात रोकेको छ । बैंकले पनि पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा ईभीमा सहज कर्जा प्रवाह गरिरहेका छन् । यी सबै अवस्थाले हामीलाई ईभीको व्यापारमा आकर्षित गरेको हो । त्यसैले हामी सीजी ग्रुप ईभीमा पनि फरक हिसाबको व्यवसाय गर्न चाहन्छौं ।

अहिले हामीले ईभी चीनबाट ल्याएका छौं । चीनसँग व्यापार गर्न बाटोको कारण असाध्यै जटिल छ । हामीले गाडी ल्याउँदा नै ४ पटक टेलर परिवर्तन गर्नु पर्ने अवस्था छ । नेपालतर्फको पूर्वाधार पनि गतिलो छैन । त्यसले लागत पनि बढाएको छ । कोभिड १९ को कारण चीनको फरक–फरक जिल्लामा लकडाउन हुँदा निकै समस्या भोगेका थियौं । समग्रमा हामी सिक्ने मौका पायौं । अब रफ्तारमा अगाडि बढ्छौं ।

डलर र नेपाली मुद्राको सटही दरमा आएको व्यापक परिवर्तनले गाडीको मूल्यमा कस्तो फरक पर्दो रहेछ ?

हरेक कम्पनीले भारत बाहेकका देशबाट ल्याउने सामान डलरमा ल्याउनु पर्छ । त्यहाँ एक किसिमको जोखिम रहन्छ । त्यो जोखिम कसरी बहन गर्ने भनेर हरेक कम्पनीले रणनीति बनाएका हुन्छन् । हामीले पनि त्यसमा खास काम गरेका छौं ।

सीजी मोटर्स र चीनको होजोन मोटर्स बीचको अत्यन्त राम्रो सम्बन्ध भएको कारण हामीले मूल्य चलाउनु पर्ने अवस्था छैन । हामीले गाडीको मूल्य तय गरेपछि डलरको भाउ ८ प्रतिशतले वृद्धि भएको छ । तर, हामीले होजोनसँग मिलेर केही मूल्य सहजता पायौं । त्यसैले अहिले डलर मूल्य वृद्धिको असर कम गर्न सहयोग पुगेको छ । डलरकै कारण हामी नेटा भीको मूल्यमा परिवर्तन गर्दैनौं ।

आज हरेक विषय खुल्ला छ । उत्पादकले दिने मूल्य, भन्सारमा लाग्ने कर, सडक निर्माण दस्तुरदेखि डिलरको मार्जिन खुल्ला किताब जस्तै छ । त्यसले पहिलेको तुलनामा अहिले व्यवसाय गर्न थप सहज हुने हाम्रो विश्वास छ ।

चीन र भारतबाट विद्युतीय साधन नेपाल ल्याएर ब्राण्ड जम्मा गरेको देखिन्छ ? अबको योजना कस्ता छन् ?

नेपालमा दुई तीनवटा सेगमेन्टका गाडी निकै चर्चित रहेका छन् । जसमा क्रसओभर कार, कम्प्याक्ट एसयूभी र साना ह्याचब्याक कारको खोजी धेरै भइरहेको पाइन्छ । यी सबै कुरा ग्राहकलाई दिन हामी ब्राण्ड सर्चमै छौं । यहाँ महंगा गाडी होइन, भ्यालू फर मनी प्रोडक्टमा जानु पर्ने हुन्छ ।

अर्को यहाँ लाइट कमर्शियल भेहिकलको माग पनि राम्रो छ । त्यसमा पनि हामीले ११ सिट र १४ सिट क्षमताका माइक्रोबसहरू ल्याउन थालेका छौं । त्यसैगरी वार्षिक ३ लाख यूनिट हाराहारीको बजार दुईपाङ्ग्रे सवारी साधनको छ । त्यसैले हामीले ओला ब्राण्डका उत्पादन विक्री सुरू गर्दैछौं ।

ईभीको लागि मुख्य समस्या चार्जिङ पूर्वाधारको मानिन्छ । विद्युत् प्राधिकरणले सार्वजनिक यातायातलाई ध्यानमा राखेर चार्जर राख्न थालेको छ भने अन्य ब्राण्डले डीसी फास्ट चार्जर जडान गर्न थालेका छन् । तपाईहरूको योजना चाहिँ कस्तो छ ?

हामी पनि चार्जर जडान गर्ने तयारीमा छौं । तत्कालै काठमाडौं, पोखरा, चितवन र हेटौंडामा ६० किलोवाटको दुई वटा गन भएको चार्जर लगाउँछौं । अहिले पहिलो लटमा ५ वटा चार्जर आइपुगेको छ । हाइवेको बीच बीचमा पनि २० वटा जति चार्जर जडान गर्दैछौं ।

विश्वभर ९५ प्रतिशत चार्ज घरमा नै भएको देखिन्छ । त्यस्तोमा नेपालमा पनि ईभी चार्ज गर्ने पहिलो थलो आफ्नै घर हो । त्यसैले होटलहरूलाई केन्द्रमा राखेर नेपालमा चार्जर राख्दा हुन्छ भन्ने हाम्रो बुझाई हो । एनएमसी ब्याट्रीको रेन्ज धेरै भएको कारण चार्जिङको खासै समस्या हुँदैन ।

देशभर डिलर नेटवर्क पुर्याउन के गर्दै हुनुहुन्छ ?

देशका मुख्य महानगर र ठूला उपमहानगरमा हामी डिलर नेटवर्क विस्तार गछौं । त्यसमा पनि लोकल डिलरसँगै केही स्थानमा आफ्नै लगानीमा नेटवर्क विस्तार गर्ने योजना छ । पोखरा, चितवन, बुटवल, विराटनगर जस्ता स्थानमा आफैँ जान्छौ भने केही स्थानमा लोकल पाटर्नर खोजेका छौं ।

शोरुमसँगै ग्राहकलाई त्यहीबाट ‘थ्री एस सर्भिस’ दिन्छौं । कम्बस्चनको तुलनामा ईभीको सर्भिस पनि निकै सहज छ । खर्चको हिसाबले पनि कम रहने भएको कारण त्यसमा खासै झन्झट छैन । २० हजार किलोमिटर नगुडाइ ईभीमा सर्भिस खर्च नै आउँदैन ।

आगामी ३ वर्षमा ईभी बजार कस्तो रहला ?

अहिले नै सप्लाईको समस्या नहुने हो भने नेपालमा ३० प्रतिशत हाराहारी ईभी विक्री हुने अवस्थामा आएको छ । भारतमा कारभन्दा दुईपाङ्ग्रेको विक्री तीव्र गतिमा बढेको छ ।

अहिलेकै रफ्तारले जाँदा पनि यही वर्ष यहाँ ईभीको ३० प्रतिशत बजार हिस्सा पुग्ने देखिन्छ । त्यसैले यहाँ बजेट मैत्री ईभीको आवश्यकता छ ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको असर ईभीको विक्रीमा देखिएको छ कि छैन ?

साँच्चैभन्दा सबै बैंक तथा वित्तीय संस्थाले ईभीलाई प्राथमिकतामा राखेर कर्जा दिएका छन् । डाउन पेमेन्ट पनि कम लाग्ने, समाजमा फरक सोच राख्ने मानिसहरूको पहिलो रोजाई हुँदा उनीहरूको कमाइले मजासँग किस्ता तिर्न सकिने र बैंकले पनि कर्जा सुरक्षीत रहेको ठान्ने अवस्थाको कारण कर्जा दिइरहेका छन् । अहिले पनि ईभी किन्नेले १३ देखि १४ प्रतिशत ब्याजदरमा कर्जा पाइरहेको अवस्था छ ।

यसअघि ७ वर्षसम्मको लागि मात्रै कर्जा अवधि रहेकोमा अब ८ वर्षे कर्जा अवधि पनि बैंकहरूले सुरू गरेका छन् । यी सबै कारण विद्युतीय कारमा कर्जा दिन बैंकहरू सहज ठान्छन् भन्ने लाग्छ । लाइट कमर्शियल भेहिकलमा पनि बैंकले सहजै कर्जा उपलब्ध गराउँदै आएका छन् । सार्वजनिक यातायातका साधनको खर्च कम र कमाई राम्रो भएको कारण ईभीमा बैंकले कर्जा दिएका छन् ।

सीजी मोटर्सले ग्राहकलाई कसरी एसोरेन्स दिन सक्छ ?

विगत १५० वर्षको इतिहास सीजीको छ । हामी हिजोदेखि नै हरेक नागरिकको घर घरमा पुगेका छौं । घरमा भएका सामानमा उत्कृष्ट सेवा दिएका थियौं । त्यसैले सीजीप्रति ग्राहकको आकर्षण छ, हामीले विक्री गर्ने गाडीमा पनि ग्राहकको आकर्षण त्यस्तै राख्न चाहन्छौं ।

ओलाका उत्पादन कहिलेबाट विक्री सुरू गर्नु हुन्छ ?

ओलाका उत्पादन मंसिरबाट विक्री गर्ने योजना बनाएका छौं । हामीले २० वटा स्कुटर नेपाल ल्याएर यहाँको सबै किसिमको बाटोहरूमा ४० हजार किलोमिटर परिक्षण गरेका थियौं । त्यो परीक्षणबाट देखिएको पर्फमेन्सलाई यहाँको सडक अनुसार बनाउन हामीले कम्पनीलाई रिपोर्ट पठाएका छौं । अब, नेपाली बटो सुहाउँदो बनेर ओलाका स्कुटर नेपाल आउने छन् ।


Back_to_top