काठमाडौं । होन्डाले नाडा अटो २०२३ मा अन्तिम समयमा भाग लिने निर्णय गरेको थियो । नाडा पूर्व अध्यक्ष सौरभ ज्योतिको नेतृत्वमा रहेको स्याकार ट्रेडिङले अटो शोमा भाग लिने निर्णय गर्नुमा केही नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
होन्डाले नेपालमा मोटरसाइकलको तुलनामा स्कुटर धेरै बिक्री गर्दै आएको छ । कम्पनीसँग मोटरसाइकलमा पनि स्कुटरभन्दा बढी छनोट उपलब्ध रहेपनि बिक्री भने कमजोर रहेको देखिन्छ । त्यसैले कम्पनीले एकपछि अर्को प्रिमियम मोटरसाइकल नेपालमा ल्याइरहेको छ ।

आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ मा होन्डा ‘२०० एक्स’ प्रदर्शनी हुने अनुमान गरिएको छ । साथै कम्पनीले एसपी १६० पनि ल्याउन सक्ने देखिन्छ । तर, यस विषयमा कम्पनीले अहिलेसम्म कुनै आधिकारीक धारणा बाहिर ल्याएको छैन ।
होन्डाले भारतमा उत्पादन गरेको अधिकांश मोडल नेपालमा उपलब्ध गराएको स्याकार ट्रेडिङले सीबी ‘२०० एक्स र एसपी १६०’ दुबै मोडल प्रदर्शनी गर्न सक्ने देखिन्छ ।
होन्डा सीबी २०० एक्समा सार्प लुकिङ एलइडी लाइट, एलएडी टर्न इन्डिकेटर, नकल गार्ड, विन्ड स्क्रीन, टल ह्यान्डलवार दिइएको छ । साथै, स्प्लीट सिट, इन्जिन कौल र डबल पर्पोज टायर यसको मुख्य विशेषता हो ।
यसमा दिइएको अप राइट ह्यान्डलबार सेटअपले यसलाई अनरोड तथा अफरोड दुबै सुहाउँदो बनाएको छ । गोल्डन कलर अपसाइड फ्रन्ट सस्पेन्सन तथा रियरमा मोनोशक सस्पेन्सनले यसलाई आरामदायी टुरर बाइक बनाएको छ ।

डिजिटल इन्स्टुमेन्ट क्लस्टर, डिस्क ब्रेक, डबल च्यानल एबीएस, ब्ल्याक अलोय ह्वील, कि अन फ्यूल ट्याङक यसमा उपलब्ध मुख्य फिचर हुन् । यसमा दिइएको इन्जिन १८४ सीसी क्षमताको इन्जिनले अधिकतम १७.३ पीएस पावर तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

