होन्डा एनएक्स २०० र हिरो एक्सपल्स २०० मध्ये कुन राम्रो ?

काठमाडौं । एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा एकपछि अर्को नयाँ मोडल बजारमा आइरहेको छ । केही महिना अघि बजारमा आएको होन्डा एनएक्स २०० को प्रतिस्पर्धा हिरो एक्सपल्स २०० सँग हुने भएको हो ।

हिरो ब्राण्डको नेपालमा आधिकारिक वितरक कम्पनी परिवर्तन भएसँगै सिजी मोटर्सले नेपालमै एसेम्बल गरेर एक्सपल्स २०० फोर भी बजारमा उतारेको छ । लामो समयदेखि हिरो एक्सपल्स बजारमा उपलब्ध थिएन । अब होन्डा एनएक्स २०० सँग यसको प्रतिस्पर्धा हुने भएको हो ।

यी दुबै मोटरसाइकल डवल पर्पस एड्भेन्चर सेग्मेन्टमा उपलब्ध मोटरसाइकल हुन् । इन्जिन क्षमताको हिसावले पनि यी दुई मोडल बीच लगभग समानता जस्तै पाउन सकिन्छ । दुबैले आफ्नो नामको पछाडि २०० झुन्डाएका छन् ।

होन्डाका उत्पादन पनि नेपालमा एसेम्बल सुरु भइसकेको छ । स्याकार ट्रेडिङले होन्डाका उत्पादन आधिकारीक बितरक जिम्मेवारी लिइरहेको छ । यी दुई मोडल बीच रहेका भिन्नता हामीले यहाँ उल्लेख गरेका छौं । जसको सहायताले तपाईलाई कुन मोटरसाइकल ठिक हुन्छ भनेर छुट्टाउन सजिलो हुन्छ ।

डिजाइन

दुबै मोटरसाइकल एड्भेन्चर ड्यूल पर्पस सेग्मेन्टमा उपलब्ध छन् । यी मोटरसाइकलमा आकर्षक ग्राफिक्स प्रयोग भएको छ । एक्सपल्स २०० फोर भी ‘नेकेट एड्भेन्चर अल टेरेन’ डिजाइनमा उपलब्ध छ ।

होन्डा एनएक्स २०० भने अर्वान एक्सप्लोरर एड्भेन्चर टुरर डिजाइनमा पाउन सकिन्छ । तपाईलाई कस्तो डिजाइन मनपर्छ । त्यहि अनुसार छनोट गर्दा उपयुक्त हुन्छ ।

इन्जिन

होन्डाले एनएक्स २०० मोटरसाइकलमा आफ्नो हर्नेट २.० मोडलमा प्रयोग भएको १८४ सीसी क्षमताको सिंगल सिलिन्डर बीएस ६ इन्जिन छ । उक्त इन्जिनले अधिकतम १७.२७ ब्रेकहर्स पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ ।

हिरो एक्सपल्स २०० फोर भीमा १९९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, बीएस ६ इन्जिन छ । यस इन्जिनले अधिकतम १९.१ ब्रेकहर्स पावर तथा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । दुबै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।

सस्पेन्सन, टायर

दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा एडजस्टेवल मोनोसक सस्पेन्सन छ । यी दुबै मोडलमा ट्युवलेस टायर र डवल डिस्क ब्रेक छ ।

होन्डाले एनएक्स २०० मा डुवल च्यानल एबीएस दिएको छ । जबकी हिरो एक्सपल्स २०० मा सिंगल च्यानल एबीएस मात्रै छ ।

फिचर

हिरोले एक्सपल्स २०० मा सबै लाइट एलइडी दिएको छ । यसमा एलइडी प्रोजेक्टर हेडल्याम्प र टेलल्याम्प पाउन सकिन्छ । डिजिटल इन्ट्रुमेन्ट कन्सोल, कनेक्टिभिटी सिस्टम, टर्न वाइ टर्न नेभिगेसन सिस्टम, गियर रेसियो, यूएसबी पोर्ट, आल्मुनियम ब्लस प्लेट, तीन फरक एबीएस मोड र स्पोक ह्वील दिएको छ ।

त्यस्तै, होन्डा एनएक्स २०० मा डिजिटल इन्ट्रुमेन्ट कन्सोल, सबै एलइडी लाइट, हाजार्ड स्वीच, डाइमन्ड स्टिल फ्रेम, स्प्लीट सेटअप सीट, अन्डर काउल, अप राइड राइडिंग पोजिसन, ह्यान्गार्ड कभर्ड लाइट र अलोय ह्वील दिएको छ ।

दुबै मोटरसाइकलमा टल ह्यान्डलबार, वीन्ड भाइजर, ह्यान्ड गार्ड, डवल पर्पस टायर र अप स्वीप्ड एग्जस्ट रहेको छ ।

माइलेज

एनएक्स २०० मा १२ लिटर क्षमताको इन्धन ट्यांक छ । यो मोटरसाइकलले ४० किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ ।

त्यस्तै, एक्सपल्समा १३ लिटरको इन्धन ट्यांक दिइएको छ । यसले प्रतिलिटर ३५ देखि ४० किलोमिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।

मूल्य

होन्डाले एनएक्स २०० मोटरसाइकलको नेपाली बजारमा ४ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरि बिक्री गरिरहेको छ । नेपालमै एसेम्बल भएको कारणले एनएक्सको तुलनामा हिरो एक्सपल्सको मूल्य थोरै कम छ ।

सिजी मोटर्सले हिरो एक्सपल्स २०० फोर भी मोटरसाइकल ४ लाख ५४ हजार ९०० रुपैयाँ तोकेर केही दिनअघि मात्रै बिक्री सुरु गरेको हो ।


Back_to_top