हुन्डाईको नाफा र बिक्री दुबै बढ्यो

एजेन्सी । कोरियन अटोमोवाइल जायन्ट हुन्डाई मोटर ग्रुपले यो वर्षको दोस्रो क्वाटर रिपोर्ट सार्वजनिक गरेको छ । हुन्डाईले दोस्रो क्वाटरको आय ४२.२५ ट्रिलियन कोरियन ओन भएको तथ्यांक सार्वजनिक गरेको हो ।

हुन्डाई मोटर ग्रुपले अघिल्लो वर्षको दाँजोमा १७.४ प्रतिशतले नाफा वृद्धि गरेको हो । कम्पनीको इलेक्ट्रीक भेहिकल र स्पोट्स यूटीलीटी भेहिकल तथा लग्जरी ब्राण्ड जेनेशिसको माग बढेसँगै आम्दानी पनि बढेको छ ।

आम्दानीसँगै कम्पनीको संचालन मुनाफा पनि ४२.२ प्रतिशतले बढेको छ । साथै कम्पनीको नाफा मार्जिन पनि सन् २०१३ पछि सबैभन्दा धेरै १० प्रतिशत पुगेको बताइन्छ । कम्पनीले यस अवधिमा खूद नाफा पनि ३.३५ ट्रिलियन कोरियन ओन गरेको हो ।

ग्रुपले विश्वभरमा दोस्रो क्वाटरमा मात्रै १० लाख ५९ हजार ७१३ यूनिट गाडी बेच्न सफल भएको छ । यो बिक्रीमा कोरिया बाहिरको बिक्री ७.६ प्रतिशतले बढेर ८ लाख ५४ हजार २१० यूनीट पुगेको हो । त्यस्तै, दोस्रो क्वाटरमा कोरियाको स्थानीय बजारमा पनि १२.७ प्रतिशतले बिक्री बढेर २ लाख ५ हजार ५०३ यूनीट पुगकेको छ ।

हुन्डाई मोटर्सले यो अवधिमा ईभीको बिक्री पनि उल्लेखित रुपमा वृद्धि गर्न सफल भएको छ । कम्पनीले ईभीको बिक्री ४७ प्रतिशतले बढाएर ७८ हजार यूनीट पुरा गरेको हो ।


Back_to_top