काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो नयाँ मोडल स्कोर्पियो एनमा आधारित रहेर पीकअप ल्याउने भएको छ । कम्पनीले स्कर्पियो एन मोडलको पीकअप भर्सन दक्षिण अफ्रिकाबाट सार्वजनिक गर्ने भएको हो ।
महिन्द्राले आगामी अगष्ट १५ तारिखको दिन नयाँ पीकअपको कन्सेप्ट सार्वजनिक गर्न लागेको हो । पीकअपको लागि दक्षिण अफ्रिका ठूलो बजार मानिन्छ । महिन्द्राले स्कर्पियो एन मोडल पनि भारत, नेपाल र दक्षिण अफ्रिकामा एक साथ सार्वजनिक गरेको थियो ।
कम्पनीले नयाँ पीकअप अहिले ‘जेड-१२१ कोड नेम’ दिएर उत्पादनको काम गरिरहेको छ । नयाँ स्कर्पियो एनमा आधारित पीकअपमा लामो कार्गो स्पेश दिन ह्वीलवेस पनि लोमो नै दिन लागिएको छ ।
महिन्द्राले स्कर्पियो एनमा २६०० एमएमको ह्वील वेस दिएको छ । तर, पीकअपमा भने ३००० एमएम भन्दा लामो ह्वील वेस दिन लागेको समाचार बाहिर आएको हो ।
सिंगल क्याव र डबल क्याव बडी स्टाइलसहित आउने अनुमान गरिएको यो पीकअपमा पेट्रोल र डिजेल दुबै इन्जिन उपलब्ध हुने छ । महिन्द्राले यी पीकअपमा म्यानुअल र अटोमेटिक, गियरबक्सको साथ टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सन दिने छ ।
महिन्द्राका पीकअप नेपालमा पनि निकै सफल मानिन्छन् । पहाडी बाटोको लागि उपयुक्त ब्राण्डको पहिचान बनाएको कारण महिन्द्राको पीकअप नेपालमा निकै रुचाइएको हो । अहिले पनि धेरै क्षेत्रका मानिसको प्रमुख यातायातको साधन बन्दै आएको महिन्द्राको नयाँ स्कर्पियो पीकअप कस्तो रहन्छ, अहिल्यै भन्न सक्ने अवस्था छैन ।

