काठमाडौं । एसपीजी अटो मोवाइलले जेको ब्राण्डका गाडी नेपाल ल्याउने भएको छ । निकै आकर्षक डिजाइनमा तयार भएको जेको जे-सिक्स बेइजीङ अटो शोमा देखाइएको हो ।
अहिले बजारमा उपलब्ध कम्प्याक्ट एसयूभीको साइजमा बनेको जे-सिक्स एसयूभीको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७१५ एमएम रहेको छ । यसका २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । चेरीको आइकार-३ लाई नै जेको ब्राण्डमा ल्याउन लागिएको हो ।
कम्पनीले जे-८ पनि चीनमा प्रदर्शन गरेको छ । यसलाई पनि तत्कालै अन्तर्राष्ट्रिय बजारमा उतार्ने योजना कम्पनीले बनाएको छ । सरकारी स्वामित्वको चेरीका सहायक ब्राण्डको रुपमा जेको, ओमोडा, जिकर जस्ता ब्राण्डले अटो शोमा आफुलाई बलियोसँग उभ्याएको छ ।
नेपाल आउने जे-सिक्स लाइफ स्टाइल एसयूभीमा कुन साइजको इलेक्ट्रीक मोटर रहन्छ भन्ने विषयमा अहिल्यै भन्न सकिने अवस्था छैन । तर, चीनमा भने अल ह्वील ड्राइभ सिस्टम भएको मोडललाई २०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध गराउने जनाएको छ ।

जेको जे-सिक्स मोडलमा ७० किलोवाट आवर क्षमताको सिएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्ज गर्दा ५०० किलोमिटर चलाउन मिल्ने सिएलटीसीले प्रमाणित गरेको छ ।
कम्पनीले गाडीको टप स्पीड १५० किलोमिटर प्रतिघन्टाको मात्रै रहने गरी यसलाई तयार पारेको जनाएको छ । रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुई ड्राइभिङ अप्सन पाइने जे-सिक्सले ६.५ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउने छ । जेकोले यसको छतमा सोलारसमेत जडान गरेको छ । यसले गाडी त्यतिकै राखेको समयमा सोलारबाट गाडी चार्ज गर्नेछ ।

निकै पृथक र कुल डिजाइनमा तयार भएको जे-सिक्सको इन्टेरियर पनि निकै आकर्षक छ । ठूलौ इन्फोटेन्टमेन्ट सिस्टम, अलगै इन्फर्मेशन डिस्प्ले, निकै रफटप देखिने ड्यासबोर्ड, स्मार्ट डोरहरु, यूनिक सेन्टर कन्सोल र त्यसमा दिइएको गियरनब तथा मोवाइल चार्जिङ प्याड लोभलाग्दो देखिन्छ ।

