गति लिँदै काँकडभिट्टा-लौकही सडक : दैनिक ९०० कामदार परिचालन, यस्तो छ प्रगति

काठमाडौं । सडक संजालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको एसियन हाइवे (काँकडभिट्टा-लौकही) सडक निर्माणले गति लिन थालेको छ । निर्माण थालिएको १ वर्षसम्म सुस्त रहेको आयोजनाको कामले पछिल्लो समय तीव्रता पाएको हो ।

निर्माण थालिएको १ वर्षसम्म यस सडकको भौतिक प्रगति करिब १२ प्रतिशत मात्रै थियो । तर, पछिल्लो ९ महिनामै थप १५ प्रतिशत प्रगति भएको छ । हाल समग्रमा यस सडकको भौतिक प्रगति २७ प्रतिशत पुगेको हो ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा ३ वर्षमा सम्पन्न गर्ने गरी यस सडकको काम २०८० माघमा थालिएको थियो । अहिले यस सडकमा दैनिक ९०० बढी कामदार परिचालन गरी कामलाई तीव्रता दिइएको छ । सडक र पुल निर्माणको काम सँगसँगै भइरहेको आयोजनाले जनाएको छ ।

काँकडभिट्टा-लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । ९५.७६ किमी सडकलाई काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी (पूर्वीखण्ड) र सीतापुरबाट इटहरीसम्म ५०.६ किमी (पश्चिमखण्ड)मा विभाजन गरिएको छ । दुईखण्डलाई पनि ५ प्याकेजमा ठेक्का लगाइएको छ । इटहरीदेखि लौकहीसम्मको २४.२४ किमी सडक भने ठेक्का लाग्न बाँकी छ ।

ठेक्का लागेको खण्डमा मात्रै साना र ठूला गरी ४८ वटा पुल र १० वटा ओभरपास निर्माण हुने छन् ।कुल ३४ अर्ब रुपैयाँ लागतमा यो सडक स्तरोन्नति गर्न लागिएको हो ।

यस्तो छ प्रगति अवस्था

काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड)का योजना प्रमुख (सीडीई) सुनिलबाबु पन्तले हालसम्म यसखण्डको समग्र भौतिक प्रगति २९ प्रतिशत पुगेको बताए ।

उनका अनुसार पूर्वीखण्ड अन्तर्गत ४५ किमी खण्डमै निर्माण कार्य भइरहेको छ । यसखण्डमा अहिले कालोपत्र गर्ने, बेस/सबबेस राख्ने, कल्भर्ट, वाल लगाउने, माटो भर्ने, पुल निर्माण गर्ने लगायत काम भइरहेको छ ।

‘पूर्वीखण्डमा सडक र पुलको धमाधम काम भइरहेको छ । हालसम्म समग्र भौतिक प्रगति २९ प्रतिशत पुगेको छ,’ उनले मेरोअटोसँग भने, ‘वर्षा र चाडपर्व सकिएकाले कामले गति लिँदैछ । अहिले ४०० बढी कामदार फिल्छडमा छन् ।’

उनका अनुसार पूर्वीखण्डमा पनि कालोपत्रको काम सुरू भएको छ । हालसम्म ३ किमी सडक कालोपत्र भइसकेको उनले बताए । यसखण्डको १८ वटा पुलमध्ये बिर्तामोड बाहेक १७ वटैको काम भइरहेको छ । त्यस्तै, १५२ कल्भर्ट मध्ये ७२ वटा निर्माण सम्पन्न भइसकेको छ । ७० वटा निर्माणाधीन अवस्था छन् भने १० वटाको काम सुरू नभएको उनले बताए ।

त्यस्तै, चारआली जङ्गलमा ‘इलिफेन्ट अन्डर पास निर्माण भइरहेको छ । उत्तरतर्फको स्ट्रक्चरको काम सकिएको छ भने दक्षिणतर्फ निर्माण सुरू गरिएको उनले बताए । अन्डर पास ६.५ मिटर चौडाइ र १५ मिटर लम्बाइको बनिरहेको छ ।

उनले कनकाई, बिरिङ र निन्दाखोलामा ३०० मिटरभन्दा लामा पुल निर्माण भइरहेको बताए । यी पुल निर्माणको लागि छुट्टै ठेक्का लगाइएको छ । यसको ठेक्का कोभेक-सीआरईजीसी-तुँदी कम्पनीले ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँमा पाएको छ । पुल निर्माणको समग्र प्रगति ३० प्रतिशत पुगेको उनले बताए । ‘सडकसँगै ठूला पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । कन्काइ पुलमा पाइलको काम सकियो । बिरिङ र निन्दाखोलामा सबस्ट्रक्चरको काम भइरहेको छ,’ उनले भने । पूर्वीखण्डको सडक निर्माणको ठेक्का १० अर्ब ६ करोड ९४ लाख रुपैयाँमा इभ्रास्कन–कालिका जेभीले पाएको छ ।

त्यस्तै, पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतीका अनुसार यस खण्डको समग्र भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । उनका अनुसार पश्चिम खण्डलाई ३ प्याकेजमा ठेक्का लगाइ धमाधम काम भइरहेको उनले बताए ।

सडकतर्फ हालसम्म ७ किमी कालोपत्र सम्पन्न भइसकेको छ भने आगामी एक सातामा थप ५ किमी कालोपत्र गर्ने तयारी भइरहेका छ । १२ किमी क्षेत्रमा सबबेस राखिएको छ । २५ किमी बढी क्षत्रेमा बेस राख्ने काम सकिएको उनले बताए । अन्य ठाउँमा वाल लगाउने, माटो भर्ने, कल्भर्ट निर्माण लगायत काम भइरहेको छ ।

पश्चिमखण्डको ५०.७६ किमी सडक निर्माण दुई प्याकेजमा ठेक्का लगाइएकाे छ । सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किमी विस्तारको ठेक्का सीआरएफजी-तुँदी कम्पनीले ९ अर्ब १३ करोड ८२ लाख रुपैयाँमा पाएको छ । त्यस्तै, गोठगाउँदेखि सुनसरीको लबिपुरसम्मको दूरी १०.७६ किमीको ठेक्का ४ अर्ब ७ करोड ३५ लाख रुपैयाँमा कोभेक-सीआरईजीसी–तुँदी कम्पनीले पाएको छ ।

यसखण्डको रतुवा, बक्रहा र लोहेन्द्रा खोलमा ३०० मिटरभन्दा लामो पुलको काम एकतिहाई सकिएको छ । यी पुल निर्माणको ठेक्का कोभेक–सीआरईजीसी-तुँदी जेभीले ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँमा पाएको छ । ‘तीन वटै पुलको पाइलको काम सकिएरको छ । अहिले सबस्ट्रक्चरको काम भइरहेको छ । साथै, स्टील स्ट्रक्चरको काम पनि हुँदैछ,’ उनले भने ।

१० वटा ओभरपास बन्दै

काँकडभिट्टा लौकही सडकखण्डमा १० वटा ओभरपास निर्माण हुँदैछन् । जसमा पूवीखण्डमा ३ वटा र पश्चिम खण्डमा ७ वटा रहेका छन् ।

पूर्वीखण्डको झापाको चारआली, बिर्तामोड र चारपानेमा ओभर पास निर्माण हुनेछ । जसमा चारपानेमा स्ट्रक्चरको काम सकिएको आयोजना प्रमुख पन्तले जानकारी दिए । चारआली र बिर्तामोडमा हालै काम सुरू भएको उनले बताए ।

त्यस्तै, पश्चिमखण्डमा झापाको दमकमा ३ वटा, मोरङको बाँसबारी, सुनसरीको तालतलैया चोक, इँटहरी, कलंकीमा निर्माण हुनेछन् । तीमध्ये दमकमा दुई वटाको काम भइरहेको योजना प्रमुख प्रजापति बताए । सुनसरीखण्डका ओभरपासको भने काम सुरू नभएको उनले बताए । त्यस्तै, पश्चिम खण्डमै कानेपोखरी, पथरी लगायत जंगल क्षेत्रमा ७ एनिमल क्रसिङ र २ वटा मंकी क्यानोपी ब्रिज पनि निर्माण हुने छन् ।

दुवै खण्डमा साइट बिजुली पोल हटाउन बाँकी

काँकडभिट्टा–लौकही सडकको दुवैखण्डमा साइट क्लियरेन्सको काम बाँकी छ । दुवै खण्डमा ३ महिनामै रुख कटान सकिए पनि बिजुलीको पोल, व्यक्तिगत घरटहरा हटाउन बाँकी रहेको छ ।

पूर्वीखण्डमा करिब २४०० बिजुलीको पोल हटाउनुपर्नेमा हालसम्म ८० प्रतिशत काम सकिएको योजना प्रमुख पन्तले बताए । अझै करिब ४८० पोल हटाउन बाँकी रहेको उनले बताए ।

‘पूर्वीखण्डमा रुखकटान र घरटहरा हटाइसकिएको छ । तर, २० प्रतिशत बिजुलीको पोल हटाउने काम बाँकी छ । प्राधिकरणले दैनिक ४ घण्टाभन्दा बढी सटडाउन नगर्दिँदा काम सुस्त भएको छ,’ उनले भने ।

पश्चिमखण्डमा भने साइट क्लियरेन्सको काम निकै सुस्त छ । योजना प्रमुख प्रजापतिका अनुसार करिब ३ हजार बिजुलीका पोल हटाउनुपर्नेमा हालसम्म ७०० मात्र हटाइएको छ । प्राधिकरणले चासो नदेखाउँदा पोल हटाउने कामले गति लिन नसकेको उनले बताए । त्यस्तै, इटहरी बजार क्षेत्रमा १२४ घरटहरा हटाउनुपर्नेमा अझै ६४ वटा बाँकी रहेको उनले बताए ।

‘रुखकटान सकिए पनि बिजुलीका पोल र घरटहरा हटाउने काम बाँकी छ । अझै २३०० बढी पोल हटाउन बाँकी छ । प्राधिकरणले ३ महिनाभित्र हटाइसक्छौं भन्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘त्यस्तै, इटहरी बजार क्षेत्रमा १२४ मध्ये ६० वटा घरटहरा हटाइए । १० वटा हटाउने काम भइरहेको छ । बाँकी ५४ वटाको काम सुरू नै भएको छैन ।’

तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका

पहिलो वर्ष निर्माण सुस्त हुँदा यस आयोजना पनि तोकिएकै समयमा सम्पन हुनेमा आशंका छ । ठेक्का अवधि अब १५ महिना मात्र रहँदा अझै ७३ प्रतिशत काम गर्न बाँकी छ । २१ महिनामा जम्मा २७ प्रतिशत मात्रै काम पूरा भएको आधारमा बाँकी समयमा काम सम्पन्न हुनेमा आशंका छ ।

यद्यपि, दुवै खण्डमा तोकिएकै समयमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना अधिकारीहरु बताउँछन् । सुरूआताी चरणमा प्रगति सुस्त देखिए पनि कालोपत्र र पुल निर्माणको सुपरस्ट्रक्चर चरणमा पुगेपछि ह्वात्तै बढ्ने उनीहरुको भनाइ छ ।

तोकिएको समयमा मुख्य काम सम्पन्न हुने पश्चिमखण्डका प्रखुम प्रजापतिले बताए । ‘ठेक्का अवधि अब १५ महिना मात्रै बाँकी छ । अहिलेसम्मको प्रगतिको आधारमा हेर्दा समयमै काम सकिनेमा आशंक उब्जिन्छ । तर, अब चाडवाड सकिएकाले काममा तीव्रता दिइएको छ । पुल र सडकको कामसँसँगै भइरहेको छ । तोकिएको समयमा पूरै काम नसकिए पनि मुख्य काम सकिन्छ, उनले भने ।

२०८० माघदेखि सुरू भएको आयोजनाको म्याद २०८३ माघ १९ गतेसम्म रहेको छ । निर्माण सम्पन्न भएको ५ वर्षसम्म मर्मत सम्भारको जिम्मा स्वयम् कम्पनीले लिनेगरी ठेक्का सम्झौता भएको छ ।

५० मिटरसम्म फराकिलो हुने

काँकडभिट्टा लौकही सडकलाई चौडाइका आधारमा ३ वर्गामा विभाजन गरिएको छ । जसमा बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर फराकिलो बनाइने छ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ ।

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व-पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ ।

यो आयोजना एसियाली विकास बैंकको ३० करोड डलर ऋण सहयोग र नेपालको ६.२ करोड डलर लगानीमा निर्माण हुन लागेको हो ।


Back_to_top