महिन्द्राको लगातार तीन हिट एसयूभी, सबैले बनायो नयाँ रेकर्ड

काठमाडौं । भारतीय एसयूभी एक्सपर्टका पछिल्ला तीन उत्पादनले एकपछि अर्को रेकर्ड कायम गर्न सफल भएको छ । महिन्द्राले ल्याएको पछिल्ला एक्सयूभी ७००, स्कर्पियो एन र केही दिनअघि बुकिङ सुरु भएको एक्सयूभी थ्रीएक्सओले रेकर्ड निर्माण गरेको हो ।

कम्पनीले ल्याएको एकपछि अर्को एसयूभीले उपभोक्ताको मन जित्न सफल भएको छ । त्यसको सुरुवात नयाँ जेनेरेशन थारबाट सुरु भएको थियो । तर, एक्सयूभी ७०० मा आइपुग्दा कम्पनीको बुकिङमा बम्पर आकर्षण देखिएको थियो ।

सन् २०२१ अक्टोबर ७ तारिखबाट बुकिङ खुला भएको एक्सयूभी ७०० ले दुई साताभन्दा कम समयमा नै ६५ हजार यूनिट बुकिङ पाउन सफल भएको थियो । यो कम्प्याक्ट एसयूभी सेग्मेन्टमा निकै राम्रो बुकिङ मानिन्छ ।

महिन्द्राले आफ्नो सर्वाधिक सफल र चर्चित मोडल स्कर्पियोलाई प्रयोग गरेर नयाँ मोडल ‘एन’ बजारमा उतारेसँगै यसलाई किन्न चाहनेहरु निकै बढे । सन् २०२२ जुलाई ३० तारिखको दिन बुकिङ खुला गरेको थियो । बुकिङ खुला भएको ३० मिनेटमै १ लाख यूनिट स्कर्पियो एन बुकिङ भएको थियो ।

अहिले अर्को नयाँ मोडलले बुकिङमा फेरि रेकर्ड बनाएको छ । महिन्द्राले एक्सयूभी थ्रीएक्सओलाई दुई दिन अगाडि सार्वजनिक गरेको थियो । कम्पनीले यसलाई आगामी मे २६ तारिखबाट डेलिभरी सुरु गर्ने यसअघि नै जानकारी दिइसकेको छ ।

कम्पनीले दुई दिनअघि नै एक्सयूभी थ्रीएक्सओको बुकिङ खुला गरेको थियो । बुकिङ खुला भएको एक घन्टामा नै ५० हजार यूनिट बुकिङ भएको कम्पनीले जनाएको छ । यो कुनै पनि सब फोर मिटर एसयूभीले अहिलेसम्म पाएको सबैभन्दा छिटो र धेरै बुकिङ हो । यो सफलतासँगै महिन्द्रा एकपछि अर्को हिट र सफल मोडल बजारमा ल्याउने अटो ब्राण्ड बन्ने बाटोमा अब्बल देखिएको छ ।


Back_to_top