काठमाडौं । यही असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने पहिलो नाडा ईभी एक्स्पो २०२२ लाई निकै चासोका साथ हेरिएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको र भविष्यको निर्विकल्प साधन बन्ने बाटोमा रहेको इलेक्ट्रीक भेहिकल एकै छानामुनि करिब २५ ब्राण्डको उपस्थिति रहने कारण पनि धेरैले नियालिरहेको अनुमान गर्न सकिन्छ ।
नाडा ईभी एक्स्पो सुरू हुन अब ४ दिन मात्रै बाँकी छ । उक्त एक्स्पोमा सहभागी हुने ब्राण्डहरूले स्टलहरू निर्माण गरिरहेका छन् । प्रस्तुत छ मेला व्यवस्थापन, नयाँ उत्पादन र यसले दिने सन्देश लगायत विषयमा मेरोअटोले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अटो शाे समिति सभापति अनुपकुमार बरालसँग गरेको कुराकानीको सम्पादीत अंश
आमनागरिकले ईभी अटो एक्स्पो २०२२ किन अवलोकन गर्ने ?
नेपालमै पहिलो पटक आयोजना हुन लागेको नाडा ईभी एक्स्पो २०२२ धेरै कारण महत्वपूर्ण छ । ईभी उत्पादकले के गर्दैछन् ? सरकारले ईभीलाई प्राथमिकतामा राखेर कर कम लगाउनुको कारण के होला ? टेक्नोलोजीको कारण ईभी कति महत्वपूर्ण छ भन्ने विषयको ज्ञान यहाँ पाउन सकिन्छ । ईभी चढ्नाको फाइदा, एउटै छानामुनि मल्टी ब्राण्डका उत्पादन अवलोकन गर्ने अवसर, विद्युतीय साधनले वातावरणदेखि तपाईं हाम्रो दैनिकीमा पार्ने फरकको विषयमा जानकारी लिन नाडा ईभी एक्स्पो २०२२ निकै सहयोगी हुनेछ ।
करिब २५ ब्राण्डका चारपाङ्ग्रे र दुईपाङ्ग्रे ईभी विक्रेता ब्राण्ड यहाँ रहेका छन् भन्नुभयो । यी ब्राण्डहरूले नयाँ उत्पादन पनि ल्याउँछन् कि पुरानै देखाउँछन् ?
ईभी भनेकै नेपालको लागि नयाँ विषय हो । विद्युतीय स्कुटर, मोटरसाइकल होस् या कार तथा लाइट कमर्शियल भेहिकल, यसलाई हामीले देख्न र उपभोग गर्न थालेको भर्खर ८/१० वर्ष भयो । यो ८/१० वर्षमा पनि पछिल्ला २/३ वर्षमा मात्रै ईभीको विक्री बढेको हो ।
बजार सुहाउँदो उत्पादन आएपछि न ग्राहकले कस्तो भनेर किन्ने हो । तयसैले ईभी शोमा रहने हरेक मोडल नयाँ मान्न सकिन्छ । यसका अलावा पनि केही नयाँ ब्राण्ड नै आउँदै छन् । ओला, नेटा, चांगन कमर्शियल, बीवाइडी लगायतका ब्राण्डले नयाँ साधन सार्वजनिक गर्ने तयारी थालेको हामीले जानकारी पाएका छौं । त्यसको अलावा हुन्डाई आयोनिक, टेस्ला मोडल थ्री जस्ता उत्पादन अवलोकनकर्ताको लागि सधैं नयाँ मोडल हुनेछन् । धेरै ब्राण्ड सहभागी भएको कारण दुईपाङ्ग्रेमा थप छनोट अवलोकनकर्ताले पाउनु हुनेछ ।
टाटा, हुन्डाई, किया, एमजी र बीवाइडी जस्ता ब्राण्डका उत्पादन बजारमा चल्तीको अवस्थामा रहेका छन् । यी कम्पनीहरू मध्ये हुन्डाई, टाटा र बीवाइडी ईभी शोमा छन् । नेटा भीले थप आकर्षण दिन सक्नेछ । त्यसैले यहाँ आउँदा ग्राहकले धेरै नयाँ कुरा पाउन सक्नुहुनेछ ।
भृकुटीमण्डपको हलमा मात्रै ईभी शो आयोजना गर्दै हुनुहन्छ । मन्दिरमा पूजा गर्न लाइन बसेका भक्तजनलाई जस्तो छिटो हेर्नुहोस् छिटो भन्नु पर्ने अवस्था त आउँदैन नि ?
यो विषयमा हामीपनि निकै सजग छौं । हलको क्षमता एक पटकमा १५ सयभन्दा धेरै मानिस अट्न सक्दैनन् होला । तर, ईभी एक्स्पोको सुरूवात गर्नु नै सबैभन्दा महत्वपूर्ण रहेको थियो । त्यसैले मानिसको अवतजावत धेरै भएको खण्डमा हामी पासदेखि टिकटसम्म कम गर्नु पर्ने अवस्था आउन सक्छ ।
साथै, त्यहाँको पार्किङ व्यवस्थापन पनि निकै कठिन हुने गरेको विगतको हाम्रो अनुभवबाट सिक्दै थप स्थान लिन हामीले प्रयास गरिरहेका छौं ।
नाडा ईभी एक्सपाेसँगै यूएसएडको सहयोगमा तीन दिने सेमिनार पनि गर्दै हुनुहुन्छ । त्यसको मुख्य उद्देश्य के के हुन् ?
नाडा र यूएसएडको बीचमा क्लिन इनर्जी भेहिकल सम्बन्धी विषयमा धेरै समान बुझाइ रहेको पाइयो । त्यसैले धेरैभन्दा धेरै विषयलाई छलफलमा ल्याउन हामीले एक्स्पो स्थलकै नजिक पारेर ‘ईभी चौतारी’ नामक सेमिनार गर्न आँटेका हौ । यसलाई हामीले तीन दिन फरक फरक विषयमा छलफल गर्दैछौं ।
असोज ७ गतेबाट हामी यो फोरम संचालन गर्छौ । जहाँ पहिलो दिन ईभी टेक्नोलोजीको विषयमा छलफल र बहस हुनेछ । त्यसैगरी, दोस्रो दिन फाइनान्सको विषयमा छलफल हुन्छ । नेपालमा सार्वजनिक यातायातको क्षेत्रमा फाइनान्सको अवस्था र भोलिका दिनमा विद्युतीय गाडी उतपादन गर्ने अवस्थासम्म पुग्दा लगानीको अवस्था के र कस्तो रहने भन्ने विषयमा छलफल गर्न खोजिएको हो ।
मेलाको अन्तिम दिन विद्युतीय सवारीसाधनको उत्पादनदेखि उपभोगसम्म के कस्ता समस्या छन् । त्यसलाई सुधार्न गर्नु पर्ने नीतिगत व्यवस्था लगायतका विषयमा छलफल हुनेछ ।

