१ खर्बको लगानी डुब्ने स्थिति आएपछि आन्दोलनको घोषणा गरेका हौं : नाडा अध्यक्षको अन्तर्वार्ता

फाइल फोटो

काठमाडौं । २०७८ मंसिरदेखि अटोमोबाइल व्यवसायको व्यापारमा तरलता अभावले ठूलो संकट सृजना गरेको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले गाडी आयातमा राख्नु पर्ने मार्जिन रकम बढाएर ५० देखि १०० प्रतिशतसम्म पुर्याएपछि व्यवसायीहरू आन्दोलित भएका थिए ।

बजारमा क्रमिक रूपमा तरलता अभाव र त्यसपछि विदेशी मुद्रा संचिति घट्न थालेसँगै सरकारले १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । क्रमिक रूपमा अन्य आयात प्रतिबन्ध लागेका वस्तुको सूची हटाउँदै गए पनि १५० सीसी माथिका मोटरसाइकल, निजी प्रयोजनमा प्रयोग हुने पेट्रोलियम पदार्थबाट चल्ने साधन र मदिराको आयात प्रतिबन्ध कायमनै राखेको छ ।

आगामी मंसिर २८ गतेसम्मको लागि आयात प्रतिबन्ध निरन्तर रहेको समयमा नै अटोमोबाइल व्यवसायीको चौतर्फी दबाब आएसँगै नाडाले मंसिर २२ गतेसम्मको लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रस्तुत छ यही सेरोफेरोमा रहेर नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापासँग गरिएको सम्वादको सम्पादित अंश :

धमाधम शोरुम बन्द हुन थालेका खबर आउन थालेका छन् । अहिलेको यथार्थ अवस्था के हो ?

नाडालाई आएको रिपोर्ट अनुसार ५०/६० वटाभन्दा धेरै शोरुम बन्द भएका छन् भन्दा हुन्छ । त्यसको लागि किन बन्द गर्ने अवस्था आयो भन्ने विषयमा प्रवेश गर्नुपर्छ । एक वर्षदेखि गाडीमा कर्जा नजाओस् भनेर केन्द्रीय बैंकले जोखिम भार बढायो । त्यसैत ५० प्रतिशत मात्रै कर्जा दिने गरेकोमा त्यसमा पनि बैंकहरू कर्जा नदिने अवस्थामा पुगे । जोखिमभार १५० प्रतिशत पुगेपछि बैंकले कर्जा दिन छाडे । त्यसको केही महिनापछि आयातलाई प्रतिबन्ध भयो । १० महिनादेखि नयाँ गाडीको लागि एलसी बन्द भयो । एलसीमा मार्जिन पहिला भएको ५ देखि १० प्रतिशतको व्यवस्थालाई १०० प्रतिशतसम्म पुर्याएपछि कसरी व्यवसाय टिक्छ ?

पछिल्लो समय बैंकहरूले प्रिमियममा मनलाग्दी गर्दा कर्जा लिन चाहने मानिस पनि डराए । यसले डिलर मात्र होइन आयातकर्ता नै पलायन हुने अवस्था आयो । शोरुमको खर्च, भाडा, कर्मचारी, बैंकको ब्याज बढेकोबढ्यै गर्ने गाडी विक्री नै नहुने अवस्था आएपछि शोरुम बन्द गर्नुको विकल्प हुन्छ र ?

अब त नाडाले आन्दोलन नै घोषणा गरेको छ । आन्दोलनले के गर्नुपर्छ भन्ने सन्देश दिन्छ ?

आन्दोलन हाम्रो बाध्यता हो । हामीले यस बीचमा अटोमोबाइलको समस्या लिएर कसलाई भेटेका छैनौं । प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, अर्थशास्त्री, सचिव, गर्भनर सबैलाई समस्या भन्यौं । उहाँहरू यो क्षेत्र आवश्यकताको क्षेत्र नै होइन भने जसरी बसेपछि हामी के गर्ने ? करिब १ खर्बको लागि डुब्ने अवस्था आएपछि आन्दोलन गर्नु बाध्यता बन्यो । हामी सुरूमा संकेतिक आन्दोलन गर्छौ । त्यसको लागि मंसिर २२ गतेसम्मको कार्यक्रम तय गरेका छौं । त्यो समयमा हाम्रो माग सुनुवाई भएन भने हामी दोस्रो चरणको आन्दोलनमा जान्छौं ।

हामीले सरकारसँग धेरै कुरा मागेका होइनौं । अर्थतन्त्र शिथिल भयो । हाम्रो व्यवसाय बन्द गर्नुपर्ने अवस्था आयो । आयात खुल्ला गरिदेऊ । अहिले कसिकसाउ बनाइएको जोखिमभार कम गर र कर्जा पाउने अवस्था सृजना गर भनेका हौं । यो विषय एउटा नागरिकले नै गर्न पाउने र भन्नुपर्ने विषय हो । हामी व्यवसायीको नाताले पनि यसलाई बलियो रूपमा उठाउनु पर्ने ठाँउमा पुगेका छौं ।

अहिलेको जटिल समयमा डिलरहरूको समस्या समाधन सबै मिलेर गर्नुपर्छ भन्ने विषयमा नाडामा दुईमत छैन । सबै आयातकर्ताहरू आफ्नो डिलरलाई परेको समस्या समाधानमा लाग्छौ भनिरहनु भएको छ ।

नाडाको तर्फबाट हामीले मुख्य डिलर र आयातकर्ता बीचको समन्वयन गराउने काम गर्नु पर्छ भनेपनि तयार छौं भनिरहेका छौं । यो समय एकले अर्कोलाई सहयोग गरे भोलीको राम्रो दिन अपेक्षा गर्ने हो ।

मंसिर २८ पछि सरकारले आयात खोल्ने संकेत देखिँदै छ । बैंकिङ सहज भएन भने आयात खोल्दा झन् बढी प्रतिउत्पादक हुन्छ कि भन्ने पनि छ । तपाईंको बुझाइ के हो ?

आयात बन्द गर्नु समाधान होइन । सरकार आयात खोल्ने बित्तिकै धेरै गाडी आउँछ भनेर डराएको हो । अंग्रेजी क्यालेण्डर अनुसार वर्ष परिवर्तनको संघारमा आयात खुले पनि धेरै गाडी मगाउने अवस्था छैन । अर्को कुरा गाडी किन्ने मानिसको चहल पहल नभई कसले गाडी धेरै मगाउँछ । त्यसमा पनि बैंकिङ सहज रूपमा पाउने अवस्था छैन ।

धेरैले आइरहेका कमर्शियल भेहिकल पनि विक्री भएका छैनन् भनेर गाडी खुले पनि विक्री हुँदैन भन्ने अनुमान गरेका हुन् । निजी गाडी किन्ने मानिससँग भएको ५० प्रतिशत रकम र बैंकबाट कर्जा लिएको ५० प्रतिशत रकम बैंकिङ च्यानलमा घुम्छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ । प्रतिबन्ध कायम राख्दा ठूलो संकट आउँछ । त्यसैले तत्काल आयात खुल्ला हुनुपर्छ ।

अघिल्लो वर्षको पहिलो ४ महिना साउनदेखि कात्तिक महिनासम्म झण्डै ८ हजार यूनिट प्यासेन्जर कार आयात भएको थियो । यो वर्षको सोही अवधिमा २ हजारभन्दा तल झरेको छ । अब कसरी बजार ट्रयाकमा आउला ?

सबैभन्दा पहिला आयात खुल्नु पर्यो । त्यसपछि बैंकको अवस्थामा सुधार आउन जरुरी छ । आयात खुलेपछि मान्छेमा सकारात्मक मनोविज्ञान पैदा हुन्छ । त्यसले देशको आर्थिक अवस्था सुध्रिन्छ भन्ने संदेश दिन्छ । त्यसपछि फर्मल च्यानल बाहिर रहेको पैसा पनि बैंकमा आउन थाल्छन् ।

यो विषय अझै सरकारले बुझेन र आयात बन्द कायम रहे स्थिति भयावह हुन्छ । आयात बन्द गरेर शोधानान्तर स्थिति सुधार गर्ने योजना नै गलत थियो । निर्यातलाई प्रोत्साहन गर्ने, औद्योगिक उत्पादन बढाउने जस्ता काम गर्नुको सट्टा आयात प्रतिबन्ध जस्तो उल्टो बाटो राज्यले लियो ।

त्यसले सरकारको राजश्व सकियो । अब तलब खुवाउन दातृनिकायबाट ऋण लिनुपर्ने अवस्था आयो ।

निर्वाचन भयो, सबै प्रदेशमा र केन्द्रमा नयाँ सरकार नयाँ बन्दै छ । गाडी एसेम्बलको युग पनि सुरू भयो । नाडाले सरकारसँग कसरी समन्वय गर्छ ?

विगतमा पनि नाडाले सरकार र व्यवसायीको बीचमा पुलको काम गरिरहेको थियो । सबै प्रदेशमा हामीले पनि नाडालाई लगेका छौं । सबै व्यवसायी साथीहरूले समन्वय गरिरहनुभएको छ । नयाँ सरकार आएपछि पनि हामी समन्वयन गछौँ ।

नेपाल एसेम्बल उद्योगको युगमा प्रवेश गरेको छ । यो भविष्यमा नेपालमै गाडी बन्ने एउटा खुड्किलो हो । नेपालभन्दा साना देशमा गाडी उतपादन हुन्छन् । हामीसँग जल, जमिन र बिजुली छ । त्यसैले भोलि ठूला उत्पादकको नजर नेपालमा नपर्ला भन्ने छैन । त्यसको लागि राज्यले व्यवसायमैत्री वातावरण निर्माण त गर्नुपर्यो नि ।

 


Back_to_top