नागढुंगासम्म पनि पुगेन सरकारको ‘भिजिबिलिटी’, २३ दिनदेखि सुरुङको काम ठप्प

काठमाडौं । विगत दुई साता यता काठमाडौंको आकाश धूलोले ढाकेको छ । काठमाडौं विश्वकै सबैभन्दा वायु प्रदूषण हुने सहरको सूचीमा अग्रस्थानमा छ । सहरबाट हरियाली डाँडाकाँडा, हिमालयका दृश्यहरू देखिन छाडेको छ । प्रतिकूल मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान समेत प्रभावित हुँदै आएको छ ।

यसैबीच, विकासे नारा घन्काउने सरकारको पनि भिजिबिलिटी हराएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारबाट करिब ११ किलोमिटरको दूरीमा रहेको नागढुंगा सुरुङमार्गको समस्या सरकारको राडरले देख्न सकेको छैन ।

राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्गको काम ठप्प भएको आज २३ दिन पुगेको छ । खानेपानीको दीर्घकालीन समाधान गर्नुपर्ने, चर्केका घरको तत्काल क्षपिूर्ति दिनुपर्ने लगायत माग राख्दै आयोजना प्रभावित क्षेत्रका स्थानीयले गत चैत ३ गतेदेखि सुरुङमार्गको काम ठप्प पारेका हुन् ।

आफ्ना मागहरू पूरा नभएसम्म काम गर्न नदिने उनीहरूको अडान छ । जसकारण सुरुङमार्गको काठमाडौं र धादिङ दुवैतर्फ काम ठप्प छ । यसअघि पनि स्थानीयले पटक पटक आयोजनाको काम ठप्प पार्दै आएका थिए ।

आयोजनाको काम ठप्प भएको झण्डै १ महिना बित्न लाग्दा समेत सरकारले सुचारु गराउन तदारुकता देखाएको छैन । आयोजनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई काम गर्ने वातावारण बनाइ आग्रह समेत गर्दै आएको छ । तर, मन्त्रालयले हालसम्म समस्या समाधानका लागि ठोस कदम चालेको छैन ।

नागढुंगा सुरुङमार्ग आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले स्थानीयको आन्दोलनका कारण २४ दिनदेखि काम ठप्प भएको बताए । उनले स्थानीयका माग सम्बोधन गरी काम गर्ने वातावरण मिलाउने प्रयास गरे पनि सफल हुन नसकेको बताए ।

‘आगामी असोजसम्म सुरुङमार्ग संचालनमा ल्याउने लक्ष्यका साथ काम गरिरहेका थियौं । तर, स्थानीयको अवरोधका कारण २४ दिनदेखि ठप्प छ,’ उनले भने, ‘स्थानीयका धेरै माग यसअघि नै सम्बोधन गरिसकेका छौं । बाँकी माग पनि पूरा गर्न प्रतिबद्ध छौं । तर, उहाँहरूले सबै माग एकैपटक पूरा गर्नुपर्ने अडान राख्नुभएको छ । जसकारण आयोजनाको काम अघि बढ्न सकेको छैन ।’

स्थानीयको खानेपानीको समस्या समाधान गर्न मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिए । उनले स्थानीयको अरु माग सम्बोधन गर्न भौतिक मन्त्रालयसँग समन्वय गरिरहेको पनि बताए ।

‘आयोजनाको काम रोक्दा हामीलाई नै घाटा हुन्छ । एकातिर आयोजना पछि धकेलिन्छ भने अर्कोतर्फ निर्माण कम्पनीले क्षतिपूर्ति दाबी गर्छ,’ उनले भने, ‘जतिसक्दो चाँडो काम अघि बढाउनुको विकल्प छैन । मन्त्रालयसँग समन्वय भइरहेको छ । चाँडै निकास निस्किने अपेक्षा गरेका छौं ।’

स्थानीयका जायज माग सम्बोधन गर्ने र काम अघि बढाउने वातावरण बनाउनु भौतिक मन्त्रालयको दायित्व हो । तर, मन्त्रालयले भने समाधान गर्न पहल भइरहेको भन्दै अरु विकल्प अगाडि बढाएको देखिँदैन । मन्त्रालयले सार्थक प्रयास गरेको भए आयोजनाको काम १ महिना रोकिनुपर्ने अवस्था आउँदैन्थ्यो ।

मन्त्रालयका प्रवक्ता (सहसचिव) भिमार्जुन अधिकारीले स्थानीयको माग सम्बोधन गर्ने विषयमा छलफल भइरहेको बताए । ‘स्थानीयको माग सम्बोधन गर्न मन्त्रालय लागिपरेको छ । हामीले छलफल गरिरहेका छौं,’ उनले भने, ‘चाँडै निकास निकाली आयोजनाको काम अघि बढाउँछौं ।’

प्रवक्ता अधिकारीले मन्त्रालयले पहल गरिरहेको बताए पनि ठोस उपलब्धी भने देखिएको छैन । २३ दिनदेखि रोकिएको सुरुङमार्गको काम अझै कति दिन रोकिने हो त्यसको टुंगो छैन । यसले आयोजनाको लागत र समय दुवै बढाउने देखिन्छ ।

दैनिक करिब ५० लाख क्षतिपूर्ति तिर्नुपर्ने

सम्झौता अनुसार ठेकेदारले निर्वाध रूपमा काम गर्न नपाए नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । काम ठप्प भएपछि निर्माणकर्ता जापानी कम्पनी हाजमा एण्डो कर्पोरेशनले क्षतिपूर्ति रकम माग दाबी गर्ने तयारी गरेको छ ।

सम्झौता अनुसार नै निर्माण कम्पनीले क्षतिपूर्ति दाबी गर्न पाउने सिनियर इन्जिनीयर पन्थीले बताए । ‘काम गर्न अवरोध भए नेपाल सरकारले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘दैनिक यति नै रकम भन्ने छैन । ठेकेदारले फिल्डमा खटाएको कामदार, परिचालन गरेका उपकरण लगायत भएको खर्चको आधारमा क्षतिपूर्ति दाबी गर्न सक्छ ।’

निर्माण कम्पनीले काम रोकिनु अघि दैनिक ४०० जनशक्ति र दर्जनौं उपकरण परिचालन गरेको थियो । ती कामदार र उपकरण अहिले थन्किएर बसेका छन् । जसकारण सरकारले निर्माण कम्पनीलाई दैनिक करिब ५० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने देखिएको छ ।

कहिलेबाट गुड्छन् गाडी ?

हालसम्म आयोजना अधिकांश भौतिक संरचना निर्माणको काम पूरा भइसकेको छ । अब फिनसिङ लगायत प्राविधिक काम मात्रै बाँकी छ । आयोजनाको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ २०८१ वैशाख ३ गते र २ हजार ५५७ मिटर लामो अपतकाली सुरुङ २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो । दुवै सुरुङमा कंक्रिट लाइनिङको काम पूरा भइसकेको छ । अब सुरुङमार्ग भित्र ढलान, बिजुली बत्ति, भेन्टिलेटर लगायत उपकरण जडान गर्न बाँकी छ ।

त्यस्तै, आयोजना अन्तर्गत ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, १ ओभर पास र ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । बलम्बुमा फ्लाइओभर ओभर निर्माण पनि ९५ प्रतिशत पूरा भइसकेको इन्जिनीयर पन्थीले जानकारी दिए ।

त्यस्तै, ९ हजार ९५६.११ मिटर एप्रोच, र्याम्प र अन्य सडक निर्माण गर्नुपर्नेमा हालसम्म ६ हजार ५६२.०५ मिटर सम्पन्न भइसकेको छ । अब ३ हजार ३९४.०६ मिटर सडक निर्माण गर्न बाँकी रहेको उनले बताए ।

समग्रमा आयोजनाको भौतिक प्रगति ८७ प्रगति र वित्तीय प्रगति ७६.६८ प्रतिशत रहेको छ । अब लगातार काम गर्न पाए आगामी असोज भित्र सुरुङमार्ग संचालनमा ल्याउन सकिने उनले बताए । ‘अझै कति दिन काम रोकिन्छ टुंगो छैन । यदि, भोलिदेखि नै काम गर्न पाए असोज/कात्तिकसम्म सुरुङमार्ग संचालनमा ल्याउने लक्ष्य छ,’ उनले भने ।

उनले सुरुङमार्ग संचालनका लागि कार्यविधिको मस्यौदा समेत बनाइ सकिएको बताए । ‘सुरुङमार्ग संचालन कार्यविधिको मस्यौदा बनिसकेको छ । सरकारबाट स्वीकृत हुन मात्र बाँकी छ,’ उनले भने ।

४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ देखि सुरुङमार्गको निर्माण थालिएको थियो । तर, स्थानीयको पटक पटकको अवरोध, कोरोना महामारी लगायत कारण अझै सम्पन्न हुन सकेको छैन । आयोजनाको अन्तिम पटक थपिएको म्याद सन् २०२५ को अक्टोबरसम्म छ ।


Back_to_top