नाडा अटो शोमा आउन सक्छ ‘नेटा यू’, यस्तो छ सिजीको तयारी

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नाडा अटो शो २०२३ मा होजोन मोटर्सका नयाँ उत्पादन प्रदर्शनी गर्ने तयारी गरेको छ । कम्पनीले नेटा भीको फेसलिफ्ट मोडल सहित नेटा यू मोडल पनि प्रदर्शनी गर्ने तयारी गरेको हो ।

चीनमा नेटा भीको फेसलिफ्ट मोडल तयार भइसकेको छ । कम्पनीले यसमा अहिले रहेको एनएमसी ब्याट्रीको सट्टामा लिथियम आयोन फस्फेट ब्याट्रीको प्रयोग गरेको छ । नयाँ ब्याट्रीको रेन्ज भने ३१८ किलोमिटर मात्रै हुने कम्पनीको भनाई छ ।

‘हामीले नाडा अटो शोमा भिजिटरलाई नेटाको टेक्नोलोजी लगायतका विषयमा बुझाउन कोशिस गर्नेछौं । त्यसको लागि भोलिका दिनमा नेपाल आउने मोडलहरु पनि देखाउने योजना छ’ कम्पनीका सीईओ हेमन्त अग्रवालले भने ।

यद्यपि, उनले अटो शोमा आउन लागेको मोडल यी हुन् भन्ने विषयमा कुनै जानकारी भने दिएनन् । नाडा अटो शो २०२३ आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

सिजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको नेटा भी निकै सफल क्रसओभर मोडल हो । यसको फेसलिफ्ट मोडल नाम नै परिवर्तन भएर आउन लागेको छ । तर, नेपालमा बिक्रीको लागि भने सन् २०२४ को सुरुवातबाट मात्रै उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

अटो शोमा आउन सक्छ नेटा यू

नेटा यू मोडल कम्प्याक्ट एसयूभी हो । नेटा यू प्रो मोडलको लम्बाई ४५३० एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । यसमा २७७० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

फिचर लोडेड नेटा यू प्रोमा इलेक्ट्रीक टेलगेट, पानारोमिक सनरुफ, हिटेड सिट, ब्यूल्ट इन ड्राइभर रेकर्डर जस्ता फिचर पाउन सकिन्छ । होजोनले नयाँ एसयूभीमा २.५ प्लस ड्राइभ एसिस्ट्यान्स सिस्टम दिएको छ ।

नेटा यू २ मोडलमा १७० किलोवाट क्षमताको मोटर दिएको छ । यो कारले शून्यदेखि १०० किलोमिटरको स्पीड केबल ७ सेकेन्डमा पूरा गर्छ । यसले सिंगल चार्जमा ६०० किलोमिटर रेन्ज दिने बताइन्छ ।


Back_to_top