स्वीफ्टको सबै भेरियन्टमा ६ एयरब्याग, माइलेज पनि बढ्यो

काठमाडौं । मारुती सुजुकीले भारतमा उत्पादन गरेको स्वीफ्टको नयाँ जेनेरेशन मोडल मे ९ तारिखबाट बिक्री सुरु हुने भएको छ । बिक्री सुरु हुनु अगाडि नै यसमा रहेका फिचरहरु बाहिर आएका छन् ।

अनलाइन मार्फत लिक भएको विवरण अनुसार स्वीफ्टमा ६ एयरब्याग स्टायडर्ड रुपमा नै दिइएको छ । सुजुकीले सुरक्षालाई विशेष ध्यान दिएर ल्याउन लागेकै कारण नयाँ जेनेरेशन स्वीफ्टमा इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्रामसँगै एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) फिचरसमेत उपलब्ध हुनेछ ।

डिजाइनमा धेरै परिवर्तन नभएको स्वीफ्ट नयाँ जेनेरेशन मोडलमा इन्जिन र सुरक्षा फिचरमा भने व्यापक परिमार्जन हुने भएको हो । कम्पनीले नयाँ जेनेरेशन स्वीफ्टमा १.२ लिटर जेड सिरिज इन्जिन दिएको छ । उक्त इन्जिनले पहिलोको भन्दा ३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । उक्त इन्जिनले अधिकतम ८३ पीएस पावर र १०८ एनएम टर्क प्रदान गर्छ ।

पहिलो पटक कम्पनीले स्वीफ्टमा भ्यान्टीलेटेड सिट, प्रिमियम अपहोलस्टीक, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस कनेक्टीभीटी दिएको छ । एक्सटेरियरमा नयाँ डिजाइनको अलोय ह्वील, एलइडी हेडल्याम्प र टेल ल्याम्पसँगै नयाँ फ्रन्ट ग्रिल पाउन सकिन्छ ।

सुजुकीको स्पोर्टी ह्याचव्याक कार २००५ मा पहिलो पटक आएको थियो । सेकेन्ड जेनेरेशन २०१२ र थर्ड जेनेरेशन २०१८ मा ल्याएको कम्पनीले फोर्थ जेनेरेशन आगामी मे ९ तारिखमा ल्याउने भएको हो ।


Back_to_top