नेपाल ल्युब आयलद्वारा छात्रवृत्ति प्रदान

काठमाडौं । नेपाल ल्युब आयलले चितवन रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र आधिकारिक वितरक समेत रहेको नेपाल ल्युबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो ।

कम्पनीले रत्ननगर–१, सरस्वती चौधरीका दुई सन्तानलाई एकवर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको १ लाख १५ हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

रत्ननगरमै मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो । उनले बीसी अटोवर्कशप संचालन गर्दै आएका थिए ।

नेपाल ल्युबका महाप्रबन्धक गंगाराज भट्टराईले कम्पनीले मेहनती अटो मेकानिकहरूको क्षमता विकासमा ध्यान केन्द्रित गरेको बताए ।

‘हामीले सधैं नेपालमा कार्यरत मेहनती अटो मेकानिक्सहरूको क्षमता विकासमा ध्यान केन्द्रित गरेका छौं। त्यसैले हाम्रा अटो मेकानिक र उहाँहरूका परिवारलाई आवश्यक परेको बेला सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो । यो जिम्मेवारी हामीले भविष्यमा पनि निर्वाह गर्नेछौं,’ उनले भने ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।


Back_to_top