बजार छ, हामी नेपालमै मोटरसाइकल उत्पादन गर्छौ

रमन महतो

प्रमुख कार्यकारी अधिकृत, रमन जनरल

एउटा सफल निर्माण व्यवसायी एकाएक ट्रेडिङ व्यवसायमा जम्प गर्नुभयो किन ?

हामी आफ्नै निर्माण व्यवसायमा भएकाले हाम्रा लागि नै धेरै कन्स्ट्रक्सन इक्युपमेन्टका आवश्यकता पर्छ । अरूसँग भर पर्दा समय लाग्ने भएकाले आफ्ना लागि आवश्यक पर्ने इक्युपमेन्ट आफैं ल्याउन सुरु गरेका हौं । पहिले रिटेलमा सामान लिँदा भन्दा सीधै फ्याक्ट्रीसँग लिँदा ठूलो स्केलमा लिन्छ, जसले मलाई १०(१२ प्रतिशत फाइदा हुन्छ । बिजनेसमा भ्यालु चेन हुन्छ । मलाई आवश्यक पर्ने मेसिन आफ्नै ल्याउँदा मेरो व्यवसायलाई धेरै सपोर्ट पुग्छ । हामीसँग क्रसर उद्योग छ, पेट्रोलियम कम्पनी रमन पेट्रोलियमसमेत छ । यसो हुँदा हाम्रो कम्पनी धेरै प्रतिस्पर्धात्मक हुन सहयोग पुगेको छ । त्यसैले आफूलाई चाहिने इक्युपमेट ल्याइसकेपछि देशभर सप्लाई चेन बनाएर बिक्री पनि सुरु गरेका हौं । हामीले लिगोङको एस्काभेटर, लोडरलगायत इक्युपमेन्ट ल्याएर बिक्री गरिरहेका छौं ।

आधिकारिक बिक्रेताका रूपमा दुईपाङ्ग्रे सवारीमा व्यवसायमा पनि प्रवेश गर्नुभएको छ । यस्तो प्रतिस्पर्धात्क बजार छ । के देखेर आउनुभयो ?

अटोमोबाइल बिजनेसमा हामी नयाँ होइनौं । कुनै समय हामी जनकपुरमा किया गाडीको डिलर चलाएका थियौं । ट्याक्टरको पनि डिलर थियौं, त्यसपछि हिरो मोटरसाइकलको डिलर पनि चलाएका हौं जनकपुरमै । त्यति बेला हामी सबैभन्दा धेरै बिक्री गर्ने डिलरका रूपमा रहेका थियौं । हामीले जनकपुरमा बिक्री गर्ने पनि मोटरसाइकल हिरोको आफ्नै डिलरमा पनि थिएन । १२(१४ वर्ष मोटरसाइकल बिक्री गर्दा हामीले के कमायौं भन्दा गुडविल कमायौं । 

एक वर्ष पहिले मलाई रनर मोटरसाइकल कम्पनीबाट अफर आयो । मैले त्यति धेरै चासो दिएको थिइनँ । पछि फ्याक्ट्री भिजिट गरेपछि बंगलादेशमा पनि यस्तो मोटरसाइकल बन्दो रै’छ भन्ने लाग्यो । १७ वर्षदेखि बंगलादेशमा मोटरसाइकल बनाइरहेको कम्पनी रहेछ । त्यहाँ गएर सबै हेरेपछि बजाज, हिरोलगायत जस्तै मोटरसाइकल रहेछ । डिजाइन, लुक्स सबै उस्तै । मूल्यमा मात्र शंका थियो । मूल्यका हिसाबले त्यति प्रतिस्पर्धी हुन सक्ने देखिएन । तैपनि मोटरसाइकमा ६ वर्षको वारेन्टी, पार्ट्सको उपलब्धता राम्रो देखेँ । दुई वर्ष ब्रान्ड स्थापित गर्न सकियो भने यो मोटरसाइकलले आफ्नो बजार लिन सक्छ भन्ने हो । 

अर्को कुरा, लागत कटौतीको योजना । यो भनेको नेपालमै एसेम्बलिङ गर्ने योजना हो । हामीलाई भन्सारलगायतमा छुट भयो भने एसेम्बलिङ असम्भव छैन ।

भनेपछि तपाईंको योजना कहिलेदेखि नेपालमा एसेम्बलिङ र उत्पादन फ्याक्ट्री स्थापना गर्ने लक्ष्य हो ? 

रमन मोटर्सले सन् २०१९ भित्रमा रनर मोटरसाइकलको सामान्य एसेम्बलिङ सुरु गर्नेछ । सुरुमा एसेम्बलिङ प्लान्ट राख्ने र त्यसको केही वर्षमा उत्पादन प्लान्ट नै राख्ने योजनासहित वर्कआउट गरिरहेका छौं । एसेम्बलिङ प्लान्ट राख्नका लागि सम्भाव्यता अध्ययन सुरु भइसकेको छ । 

मोटरसाइकल उत्पादन गर्ने उद्देश्यका साथ जग्गा खोज्ने लगायत सम्भाव्यता अध्ययनको काम सुरु गरिसकेका छौं । हामीले आठ महिना पहिले बंगालादेशी मोटरसाइकल रनर नेपाल भित्र्याएका हौं । दुई वर्षजतिमा यो ब्रान्डलाई स्थापित गर्ने र त्यसपछि सामान्य एसेम्बलिङ सुरु गर्ने हाम्रो लक्ष्य हो । २०१८ को अन्त्यतिर वा ०१९ को सुरुदेखि सामान्य एसेम्बलिङको काम सुरु गरिनेछ । 

सामान्य एसेम्बलिङबाट अटोमेटेड एसेम्बल प्लान्ट लगाउनका लागि वार्षिक कम्तीमा १५ हजार मोटरसाइकलको बजार हिस्सा आवश्यक रहेको हाम्रो अध्ययनले देखाएको छ । त्यसले लगानीलाई जस्टिफाइ गर्छ । हाम्रो ब्रान्डको मोटरसाइकलको वार्षिक बिक्री ३०(४० हजार पुग्यो भने हामी म्यानुफ्याक्चरिङमा जान्छौं । अबको ६ वर्षमा उत्पादन गर्ने उद्योगमै जाने लक्ष्य हो । यसमा बजारको प्रतिक्रियापछि स्टाटेजी परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ ।

धेरै कम्पनीले लामो समयदेखि मोटरसाइकल ल्याएर बिक्री गरिरहेका छन् । उनीहरूले एसेम्बलिङ गर्ने योजना मात्र बनाएका छन् । बजाजले धेरै लामो चर्चापछि बल्ल एसेम्बलिङ सुरु ग¥यो । तपाईंको योजना अलि महत्वाकांक्षी भएन ?

यो मेरो प्यासन हो । मोटरसाइकल ल्याएर बेच्ने काम गर्न सजिलो छ । म त्यसो मात्र गर्दै छैन, एसेम्बलिङ हुँदै म्यानुफ्याक्चरिङमै पुग्ने योजना हो । बजार भएपछि त्यसको उत्पादन जरुरी छ । हाम्रो सरकार र उद्योगी सबै आयातमै रमाउने गरेका छौं । नेपालमा मोटरसाइकलको बजार बढ्दो छ भने यहीँ उत्पादन किन नगर्ने ? नेपालमा यस्तो खालको सकारात्मकता फैलाउनुपर्नेछ । म आफैं पनि अटोमोबाइल इन्जिनियर भएकाले यो काम फत्ते गर्ने नै हो । एक दिन म आफ्नै नेपाली माटो सुहाउँदो मोटरसाइकल डिजाइन बनाउँछु भन्नेमा म निश्चिन्त छु । 

नेपालमा बजारअनुसारको मोटरसाइकल उत्पादन सुरु गर्नुपर्छ । धेरै लगानी गरेर त्यो लगानीअनुसारको प्रतिफल आउन सकेन भने कसरी सस्टेन हुन्छ ? एसेम्बलिङ अलि ठूलो वर्कसपबाटै गर्न सकिन्छ । दैनिक १०(१५ वटा मोटरसाइकल बनाउनबाट सुरु गर्ने हो । पहिले उठ्नु पर्यो, त्यसपछि हिँड्न सक्ने हुने अनि मात्र दौडने हो । हामी त्यही सिद्धान्त अनुसार अघि बढेका छौं ।

एसेम्बलिङका लागि ल्याइने स्पेयर पार्ट्स पनि तयारी वस्तुकै रूपमा आयात हुने गरेको छ । यसरी ल्याइएका पार्ट्सबाट मोटरसाइकल बनाउँदा महँगो पर्ने सम्भावना हुन सक्छ । आयात गरिएको र नेपालमै एसेम्बल भएको मोटरसाइकल मूल्यमा केही फरक त हुनुपर्यो नि ?

तपाईंले भन्नुभएको कुरा ठीक हो । तर म पाँच(दस जना प्राविधिक राख्छु । मलाई एउटा प्राविधिकले दैनिक एउटा मोटरसाइकल तयार गरे पुग्छ । यसो गर्दा भन्सारलगायतको लागतभन्दा पक्कै कममा एसेम्बल हुन्छ । त्यसपछि क्रमिक रूपमा त्यसको रेसियो बढाउँदै जाने हो । एसेम्बलिङको भोलुम बढेपछि एक–दुईवटा अटोमेटेड मेसिन राख्ने । जब मोटरसाइकलको बजार बढ्छ, बिक्रीले लागत धान्न अवस्था सिर्जना आउँछ अनि म्यानुफ्याक्चरिङ प्लान्ट राख्ने हो ।

मोटरसाइकलको एसेम्बलिङ प्लान्ट कहाँ राख्ने र कति लगानी गर्ने योजना बनाउनुभएको छ ? 

एसेम्बलिङ प्लान्ट स्थापनाका लागि प्रदेश नम्बर २ र ५ मा जग्गा खोज्ने काम भइरहेको छ । एसेम्बलिङ(म्यानुफ्याक्चरिङ प्लान्ट राख्नका लागि ठूलो जग्गा चाहिन्छ । जग्जामा धेरै लगानी गर्नुपर्छ र एकै ठाउँमा जग्गा पाउनै गाह्रो छ । सरकारले त्यसका लागि कुनै सहयोग गर्दैन । दुई(तीन अर्बमा एसेम्बलिङ प्लान्ट राख्न सकिन्छ, तर यहाँ जग्गामै ५(७ अर्ब खर्चनुपर्ने स्थिति छ । अनुत्पादक क्षेत्रमा हुने लगानी रोकिन सक्यो भने उत्पादन क्षेत्रमा त्यो स्वतः बढ्छ । मेरो प्लान्टका लागि १ सय बिघा जमिन चाहिन्छ । एसेम्बलिङ प्लान्ट स्थापनाका लागि २ देखि ३ अर्ब लगानी हुने देखेको छु । बंगलादेशी कम्पनी रनरसँगको साझेदारीमा रमन मोटरले मोटरसाइकल एसेम्बल गर्ने हो । त्यसमा पुँजी लगानी हामीले गर्छौं र प्रविधि र प्रोडक्ट उनीहरूले दिन्छन् ।


Back_to_top