काठमाडौं । रसुवागढी नाकाबाट गाडी आयात बढेको छ । चीनबाट गाडी आयत गर्ने कम्पनीले रसुवागढी (केरुङ) नाकाको प्रयोग गर्न थालेसँगै गाडी आयात बढेको हो ।
अहिले केरुङदेखि धुन्चेसम्मको बाटो कच्ची भएपनि धुन्चेदेखि काठमाडौंसम्मको बाटो कालोपत्रे भएको कारण आयातकर्ता कम्पनीले केरुङ नाकाको प्रयोग गर्न थालेका हुन् ।
आयातकर्ता कम्पनीको लागि केरुङ नाकाबाट गाडी नेपाल ल्याउन कलकताको तुलनामा करिब २० दिन चाँडो हुने भएकाले पनि उनिहरु बैकल्पीक बाटोकोरुपमा केरुङ नाका प्रयोग गर्न थालेका हुन् ।
अहिले एमजीले करिब १०० यूनिट इजेडएस केरुङ नाकाबाट आयात गरिरहेको छ भने बीवाइडीले पनि ४० यूनिट हाराहारी गाडी केरुङ नाकाबाट आइरहेको जनाएको छ । त्यसैगरी विभिन्न कम्पनीले ल्याउने इलेक्ट्रीक स्कुटर र मोटरसाइकलको साथै, नयाँ नयाँ ब्राण्डका चिनियाँ गाडी पनि केरुङ नाकाबाट आउन थालेका छन् ।
पछिल्ला दिनमा केरुङ नाकाबाट दैनिक ९ कन्टेनर सामान नेपाल आइरहेको भएपनि नयाँ गाडी आयतमा कुनै सिमा नरहेको भन्सार विभागका प्रबक्ता पुण्य विक्रम खड्काले जानकारी दिए । उनका अनुसार पछिल्ला दिनमा चीनमा बनेका गाडी केरुङ नाकाबाट आउने क्रम बढ्दो रहेको छ ।


