काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा काठमाडौँलाई भारतको सीमावर्ती सहर रक्सौलसँग जोड्ने गरी नयाँ इलेक्ट्रिक रेल मार्ग भारतको खर्चमा बनाउने सहमति भएको छ ।
भ्रमणका क्रममा भारत–नेपालले १२ बुँदे संयुक्त विज्ञप्तिसँगै रेल लिङ्केज विस्तार गर्ने सम्बन्धी चार बुँदे छुट्टै विज्ञप्ति समेत जारी भएको छ।
रेलसम्बन्धी विज्ञप्तिको पहिलो बुँदामा भारतको आर्थिक सहयोगमा रक्सौलबाट काठमाडौँ जोड्ने एउटा नयाँ विद्युतीय रेल लाइन बनाउने उल्लेख छ।
प्रधानमन्त्री ओलीले नेपाल सरकारले नयाँ रेल लाइनको सर्भे छिट्टै सकाउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
भारतको जयनगरबाट जनकपुर–कुर्था र जोगबनीबाट विराटनगरको भन्सारसम्मको रेलमार्ग यही वर्ष (सन् २०१८) मा पूरा हुने विषय दुई प्रधानमन्त्रीले नोट गरेका छन् ।
रेल सेवाहरु सञ्चालन गर्नका लागि नेपाल र भारतबीचको संयुक्त वर्किङ ग्रुपको बैठक नियमित भइरहेकोमा दुई प्रधानमन्त्रीले प्रशंसाका साथ नोट गरेको तेस्रो बुँदामा उल्लेख छ।
अन्तिम बुँदामा भारत र नेपालबीचको सीमा पार रेल लिङ्क प्रोजेक्टको दोस्रो चरण अन्तर्गतका बाँकी तीन लिङ्कहरुको महत्वबारे जोड दिइएको छ। यी तीन रेलमार्गमा न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्म, नौतनवादेखि भैरहवासम्म र नेपालगञ्ज रोडदेखि नेपालगञ्जसम्म रहेका छन् ।