नौ महिनामा १३ हजार सवारीसाधन दुर्घटना, साँझ बिहानभन्दा दिउँसै बढी खतरा

काठमाडौं । पछिल्लो समय देशभर सवारी दुर्घटनाको संख्या बढिरहेको छ । कमजोर सडक, पुराना सवारीसधान तथा चालकको लापर्बाहीको कारण दिनानुदिन सडक दुर्घटनाको मात्रा बढिरहेको हो ।

फ्याक्ट्स नेपालले आर्थिक वर्ष २०७४/०७५ को नौ महिनामा तयार पारेको सडक दुर्घटनाको तथ्यांकअनुसार सबैभन्दा धेरै सवारी दुर्घटना बिहान १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा भएको देखाएको छ । 

नौ महिनामा दुर्घनामा परी मृत्यु हुनेको संख्या १ हजार ८ सय ७५ रहेको छ भने, ३ हजार ३८ जना गम्भीर घाइते भएका छन् । 

सो समयमा सबैभन्दा धेरै ३ हजार २ सय ७९ सवारी दुर्घटना भएका छन् भने, बिहान ६ बजेदेखि १२ बजेसम्म २ हजार ३ सय ३२ सवारीसाधन दुर्घटनामा परेका छन् । 

साँझ ६ बजेदेखि राति १२ सम्मको दुर्घटना तथ्यांक पनि निकै डरलाग्दो रहेको छ । यस समयमा २ हजार ५८ सवारीसाधन दुर्घटनामा परेका छन् भने मध्यरात १२ बजेदेखि बिहान ६ बजेसम्म ३ सय ६५ सवारीसाधन दुर्घटनामा परेका छन् । 

आर्थिक वर्ष २०७४/०७५ को पहिलो नौ महिनामा कुल १३ हजार १ सय ८२ सवारीसाधन दुर्घटनामा परेका छन् । त्यसमध्ये सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेका छन् । यस अवधिमा बाइक स्कुटरलगायतका दुईपाङ्ग्रे सवारीसाधन पाँच हजार ४६ वटा सडक दुर्घटनामा परेका छन् । 

सोही तथ्यांकअनुसार कार, जीप तथा भ्यानहरू ३ हजार ७ सय ७४ र १ हजार ७ सय ३७ ट्रक तथा ट्याङ्कर दुर्घटनामा परेका छन् । 

१ हजार ४ सय ८९ बस दुर्घटना हुँदा ४ सय २१ ट्याक्टर तथा साईकल दुर्घटनामा परेका छन् । ठेला गाडाजस्ता शारीरिक शक्तिबाट सञ्चालित हुने ५ सय ३० सवारीसाधन दुर्घटनामा पर्दा १ सय ८५ वटा तीनपाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेका छन् । 

यसरी भएका दुर्घटनामा ज्यान गुमाउने तथा गम्भीर घाइते हुनेकोे संख्या पनि उत्तिकै मात्रामा बढिरहेको छ । आर्थिक वर्ष २०७४/०७५ को पहिलो नौ महिनामा दुर्घनामा परी मृत्यु हुनेको संख्या १ हजार ८ सय ७५ रहेको छ भने, ३ हजार ३८ जना गम्भीर घाइते भएका छन् । सामान्य घाइतेको संख्या ६ हजार ३८ रहेको छ । 

निकै जोखिम बढ्यो

नेपालमा जुन तथ्यांक दुर्घटनाको देखापरेको छ । यो निकै डरलाग्दो रहेको छ । अहिले हाम्रोमा सडक पूर्वाधार तिब्र गतिमा चलाउन मिल्ने किसिमका बनेका नै छैनन् । सडक दुर्घटनाले कुनै समय अमेरिकाजस्तो देशमा वार्षिक ४० हजार मानिसले ज्यान गुमाउने गरेका थिए । उनीहरूले सडक सुरक्षामा लगानी बढाएर केही वर्षमा नै दुर्घटना न्यूनीकरणमा ठूलो सफलता पाए । 

नेपालमा स्पीड हाईवे निर्माणपछि झनै समस्या आउने देखिन्छ । त्यसका लागि सबै तह र तप्काबाट सडक सुरक्षामा विषेश पहल गर्नुपर्छ । अहिलेकै अवस्थामा नौ महिनामा १८ सयभन्दा बढीको ज्यान जानु र ३ हजारभन्दा बढी गम्भीर घाइते हुनु निकै डरलाग्दो विषय हो । हामीले यसलाई रोक्न आजैबाट काम थाल्नुपर्छ । 

विशेष गरेर निजी सवारीसाधनको दुर्घटना दर बढी भएकाले त्यसको नियन्त्रणमा ठोस कामको सुरुवात गर्नुपर्छ अन्यथा सडक दुर्घटनाको अवस्था अहिलेभन्दा बढी भयावह हुन्छ । 

यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमबीचको सहकार्यमा तयार पारिएको हो, हरेक बुधबार प्रकाशन हुने छ । 


Back_to_top