असोजबाट साझाका इलेक्ट्रीक बस गुड्ने, विद्यार्थी र जेष्ठ नागरिकलाई छुट दिँदा साझा घाटामा

काठमाडौं । साझा यातायातले सरकारले दिएको ३ अर्ब रुपैयाँबाट किन्ने बस असोजदेखि सञ्चालनमा आउने भएको छ । पहिलो चरणमा उक्त रकमबाट २०२५ वटा बस खरिद गरि असोजसम्ममा काठमाडौंमा गुडाईने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए । 

यसअघि प्राधिकरण गठन गरी प्राधिकरण वा यातायात व्यवस्था विभाग मार्फत नै ३ सय इलेक्ट्रीक बस खरिद गरि चलाउने योजना सरकारले बनाएको थियो । तर बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री महासेठले सरकार आफैंले किन्ने निर्णय भएको भन्दै उनले भने, ‘साझा सहकारी पनि सरकारकै हो । जसमा सरकारको ९९ प्रतिशत शेयर रहेकाले साझा सहकारी मार्फत विद्युतीय बस किन्ने निर्णय भएको हो ।’ 

साझा सहकारीका अध्यक्ष कनकमणी दिक्षितले साझा यातायात घाटामा भएको स्वीकार गरे । ‘जेष्ठ नागरिक तथा विद्यार्थीलाई सहुलियत दिँदा साझा घाटामा भएको हो,’ उनले भने, ‘संसारभर सार्वजनिक यातायात घाटामा हुन्छ ।’ 

विद्युतीय बस वातावरणमैत्री र सहरी सौन्दर्यता भएकाले त्यो आवश्यक ठानेर सरकारले साझालाई बस किन्न उक्त रकम उपलब्ध गराएको दिक्षितको दाबी छ । 

साझा यातायातलाई सरकारले बसको स्पेसिफिकेसन समेत तोकेर दिएको मन्त्री महासेठको भनाई छ । साझाले आगामी असोजसम्ममा पहिलो चरणमा २०/२५ वटा विद्युतीय बस ल्याउने उनले जानकारी दिए । 

साझा सहकारीलाई आर्थिक वर्ष २०७६/७७ भित्रमा ३ सय वटा विद्युतीय बस किन्ने गरि २०७६ असार २९ गतेको मन्त्रिपरिषद्ले ३ अर्ब रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत उपलब्ध गराइएको मन्त्री महासेठको भनाई छ । 

भौतिक पूर्पाधार तथा यातायात मन्त्रालयको प्रत्यक्ष निगरानीमा साझा यातायातले जी टू जी वा खुल्ला प्रतिपस्पर्धाबाट इलेक्ट्रीक बस किनिने मन्त्री महासेठको जिकिर थियो । सरकार बसको स्पेसिफिकेसन बारे निर्णय गरिसकेको बताएपनि स्पेसिफिकेसन भने सार्वजनिक गरिएको छैन ।


Back_to_top