सुजुकीको सानो इलेक्ट्रीक कारको चर्चा सुरू

काठमाडौं । जापानी ब्राण्ड सुजुकी साना र सस्ता कारको लागि परिचित कम्पनी हो । अझ मारुती सुजुकीले भारतमा बनाउने कारहरु निकै सफल मानिन्छन् ।

विश्वकै तेस्रो ठूलो कार बजार बनिसकेको भारतमा लगभग ४२ प्रतिशत बजार हिस्सा ओगटेको सुजुकीले विद्युतीय कारमा पनि लगानी बढाउँदै लगेको छ । अहिलेसम्म कुनै पनि मोडल ईभी नल्याएको कम्पनीले केही महिना भित्रै ईभीएक्स मोडल बजारमा ल्याउँदैछ ।

सुजुकीको ईभीएक्स एसयूभी हो । स्वाभाविक रुपमा यसको मूल्य २० देखि २२ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । त्यसैले यसको चर्चा धेरैले गर्दैनन् । तर, कम्पनीले ल्याउन लागेको अर्को मोडल ईडब्लूएक्सको भने चर्चा सुरु भएको छ ।

सुजुकीले सन् २०२३ मा देखाएको ‘ईडब्लूएक्स’ कन्सेप्टमा आधारित रहेर बजेट ह्याचव्याक ल्याउने भएको हो । कम्पनीले यसलाई सन् २०२६ बाट बिक्री सुरु गर्ने जनाएको छ ।

सुजुकीले यसलाई ‘के-ईभी प्लेटफर्म’मा बनाउने जनाएको छ । कम्पनीले यसमा रहने ब्याट्री र मोटर साइजको विषयमा केही जानकारी नदिएपनि रेन्ज भने २३० किलोमिटर हाराहारी रहने जनाएको छ ।

अहिले कम्पनीले बिक्री गर्दै आएको वागेनआरको झल्को आउने ‘ईडब्लूएक्स’ कन्सेप्टको लम्बाई ३३९५ एमएम, चौडाई १४७५ एमएम र उचाई १६२० एमएम रहेको छ । कम्पनीले बिक्री गरिरहेको एक्सप्रेसोभन्दा सानो साइजमा ईडब्लूएक्स उपलब्ध हुनेछ ।

यसका अलवा सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ईभीएक्स यहि वर्ष बजारमा ल्याउने गरी तयारी गरिरहेको छ ।


Back_to_top