ब्याट्रीमा वारेन्टी सकिएकै दिन घरखेत बेच्नु पर्दैन : कुशल राजभण्डारीको विचार

काठमाडौं । कुनै पनि विद्युतीय गाडी कम्पनीले दिएको वारेन्टी सकिको दिन ग्यारेजमा थन्काउनु पर्ने वा ब्याट्री फेर्न लानुपर्ने होइन । नेपालमा सन् २०१० देखि विद्युतीय कार उपलब्ध छन् । मैले पनि २०१९ देखि निरन्तर नेपालमा उपलब्ध भएको पहिलो मध्येको एक महिन्द्रा ईटुओ प्लस चढिरहेको छु । म आफू ईभी चढिरहेको मात्र छैन, अन्य धेरैलाई ईभीमा जान सल्लाह पनि दिँदै आएको छु । त्यसका पछाडि धेरै कारण छन्, त्यसको विषयमा चर्चा गर्दै जाउँला ।

आज मैले ईभीमा प्रयोग हुने ब्याट्री र त्यसमा कम्पनीले दिने वारेन्टी अनि त्यसको बाटोको विषयमा केही बुझाउन खोजेको मात्रै हो । मैले पहिलो पटक सेकेन्ड ह्याण्ड नै महिन्द्रा ईटुओ किनेको थिए । त्यसलाई पूरा तीन वर्ष चलाए । त्यसको कम्पनी वारेन्टी सकिएको गाडी किनेर तीन वर्ष चढेपछि किनेको भन्दा केही बढी रकममा नै मैले त्यो ‘टु डोर ईटुओ’ बेचेको थिए ।

मैले अहिले चढिरहेको ईटुओ प्लस २०१९ मोडल हो । कम्पनीले दिएको वारेन्टी पिरियड ३ वर्ष मात्रै थियो । जुन २०२२ को सुरूआतमै सकियो । अहिले पनि मेरो गाडीको रेन्जमा कुनै समस्या छैन । अहिले पनि मेरो गाडीले इन्ट्रुमेन्ट क्लष्टरमा देखाएको जति नै रेन्ज दिइरहेको छ । केही दिनअघि मैले सोसल मिडिया पेज इलेक्ट्रीक भेहिकल ग्रुपमा पनि त्यसको विस्तृत विवरण राखेको थिए ।

गत शनिबार मैले मेरो ईटुओ प्लसलाई फुल चार्ज गरे । त्यसपछि मैले ७१.६ किलोमिटर चलाउँदा अझै ३६ किलोमिटर रिमेनिङ किलोमिटर देखाइरहेको थियो । त्यसलाई जोड्दा झण्डै १०८ किलोमिटर रेन्ज पुग्यो । फुलचार्ज गर्दा त्यसले देखाउने ११० किलोमिटर रेन्ज हो । जुन वारेन्टी सकिएको गाडीबाट मैले पाइरहेको छु भन्दा हुन्छ ।

अहिलेको ब्याट्री भएका ईभीको राम्रो हेरचाह गर्ने हो भने ब्याट्री नै परिवर्तन नगरी गाडी पुस्तान्तरण हुन सक्छ । तपाईंले किनेको गाडी नातीले पनि चलाउन सक्छ, त्यसैले वारेन्टी अवधिमा मात्रै ब्याट्री चल्छ भन्ने मानसिकता त्यागौं ।

गाडीमा रिमेनिङ रेन्ज शून्य किलोमिटर देखाउँदा पनि केही किलोमिटर गाडी गुड्छ । मैले मेरै गाडीमा यो पनि परीक्षण गरेको छु । अहिले कम्पनीले वारेन्टी दिएको समय सकिएपछि तत्कालै ब्याट्री परिवर्तन गर्नु पर्छ भन्ने किसिमको भाष्य निर्माण गरिँदैछ, त्यो सत्य होइन ।

अहिलेको मेरो महिन्द्रा ईटुओ प्लसको पफर्मेन्स हेर्दा अझै अर्को ३ वर्ष राम्रोसँग यही ब्याट्रीले चल्छ भन्नेमा म ढुक्क छु । किन भने मैले मेरो गाडीमा भएको ब्याट्रीको हेल्थ चेक गरेको छु ।

यसअघिको दुई ढोका भएको ईटुओ पनि मैले ६५ हजार किलोमिटर ओर्जिनल ब्याट्रीमा नै चलाएको थिए । त्यसैले अहिलेको मेरो ईटुओ पनि ढुक्कसँग चल्छ । त्यसैले त मेरो मनमा ब्याट्रीको वारेन्टी सकियो, कति खर्चमा ब्याट्री फेर्न पाइएला ? ब्याट्री फाल्न कहाँ लाने होला ? यसको ब्याट्री फेर्दा मेरो घरखेत नै जाने हो कि भन्ने खालका कुनै पनि चिन्ता मेरो मनमा छैन । म ढुक्क छु, मेरो ईभीले कम मूल्यमा मेरो दैनिकी अझै सहज बनाउँदै जानेछ ।

के हो वारेन्टी ?

कुनै पनि सामानमा दिइने वारेन्टी भनेको निश्चित समयसम्म केही भइहालेमा हामी त्यसको दायित्व व्यहोर्छौं भन्ने हो । त्यसको मतलव वारेन्टी सकिएको भोलिपल्टै त्यो समानले काम नै गर्दैन भन्ने होइन । अहिले पनि ६ महिनाको वारेन्टी दिइएको चाइनिज फोन त राम्रोसँग चलाउँदा वर्षौ टिक्छ । हामीले चर्चा गरेको त गाडी हो ।

मैले चढिरहेको गाडीमा १० वर्ष पहिलेको प्रविधि प्रयोग गरेर डिजाइन गरिएको ब्याट्री छ । त्यसमा न लिक्वीड कुलिङ छ, न हिटिङ । ब्याट्री चिसो बनाउन छ त केवल एउटा पंखा । त्यसको पफर्मेन्स मैले तपाईंहरूसँग सेयर गरिसकेको छु ।

अहिले बजारमा आएका आधुनिक ईभीमा भएका ब्याट्री अत्याधुनिक प्रविधिमा तयार पारिएका छन् । त्यसैले त मेरो गाडीको ३ वर्षे वारेन्टीको तुलनामा अहिले ८ वर्षको वारेन्टी पाइन्छ । अहिलेको ब्याट्री भएका ईभीको राम्रो हेरचाह गर्ने हो भने ब्याट्री नै परिवर्तन नगरी गाडी पुस्तान्तरण हुन सक्छ । तपाईंले किनेको गाडी नातीले पनि चलाउन सक्छ, त्यसैले वारेन्टी अवधिमा मात्रै ब्याट्री चल्छ भन्ने मानसिकता त्यागौं ।


Back_to_top