काठमाडौं । चीनमा सर्वाधिक विक्री भएको विलिङ मिनी कार नेपालमा विक्री सुरु भएको छ । नेपालको लागि आधिकारीक विक्रेता इभी नेपाल मोटर्सले चीनको चर्चित ब्राण्ड विलिङको सानो ईभी ‘विलिङ एयर मिनी’ नेपाल ल्याएको हो ।
कम्पनीले स्ट्याण्डर्ड र लङ रेन्जमा विलिङ एयर मिनी ईभी नेपालमा विक्री सुरु गरेको हो । स्ट्याण्डर्ड रेन्ज मोडलले २०० किमि र लङ रेन्ज मोडलले ३०० किमि रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।
बज्र ग्रुप अन्तगर्तको इभी नेपाल मोटर्सले स्ट्याण्डर्ड रेन्ज मोडलको मूल्य २४ लाख ९९ हजार र लङ रेन्ज मोडलको मूल्य २९ लाख ९९ हजार तोकेर विक्री सुरु गरेको हो । दशैं अगाडि देखिनै कम्पनीले बुकिङ लिइरहेको थियो ।
नेपाल आएको विलिङ एयर मिनी इन्डोनेशियामा उत्पादन भएको हो । अमेरिकी अटो जाइन्ट जनरल मोटर्स र चीनको सबैभन्दा ठूलो गाडी उत्पादक ग्रुप एसएआईसीको समेत लगानी रहेको विलिङले सिंगल मोडल विक्रीमा टेस्ला मोडल थ्रीलाई समेत धेरै पटक पछाडि पारेको छ ।
सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण चीनमा मात्रै दुई वर्षमा ९ लाख यूनिट वूलिङ विक्री भएको छ । यो मिनी कारको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम रहेको छ ।

नेपाल आउने वूलिङ एयर दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसको सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी छ ।

लङ रेन्ज मोडल भने २६.७ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । यसमा पनि ३० किलोवाट क्षमताको मोटर दिइएको छ । यसले एक पटकको फुल चार्जमा ३०० किमि रेन्ज दिने कम्पनीको दावी छ ।

दुई ढाेका र चार सिट अप्सनमा नेपाल आउने विलिङ एआई फिचर भएको मिनि ईभी हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसकाे व्याट्रीमा ८ वर्षकाे वारेन्टी दिएकाे छ ।





