काठमाडौं । लकडाउन कै बीच होन्डा इन्डियाले बीएस ६ इन्जिनमा आफ्ना दुई मोडल एक्स व्लेड र सिबी हर्नेट वेभसाइटबाट हटाएको छ । यी दुबै मोडललाई कम्पनीले भारतको अफिसियल वेभसाइटबाट हटाएसँगै अब यी दुई मोडलको उत्पादन हुने नहुने अन्योल भएको हो ।
भारतले घोषणा गरेको लकडाउनको कारण अहिले कुनैपनि सवारी उत्पादकले उत्पादन गरेका छैनन् । यस्तोमा अप्रिल १ बाट लागु भएको नयाँ प्रदुषण मापदण्ड अनुसारको इन्जिनमा नभएको कारण यी दुई मोडललाई तत्कालको लागि वेभसाइटबाट हटाइएको हुन सक्ने अनुमान गरिएको छ ।
अहिले नेपाली बजारमा यी दुबै मोडलको बिक्री वितरण भइरहेको छ । यी मोडललाई कम्पनीले निर्यातको लागि उत्पादन गर्छ वा गर्दैन भन्ने अहिलेसम्म एकिन भइसकेको छैन ।
यदि कोरोना संक्रमण कै कारण कम्पनीले यसलाई हटाएको हो भने लकडाउन सकिएपछि यसलाई पुनः ल्याउने अनुमान पनि गर्न सकिन्छ ।
होन्डाले हर्नेट १६० आरलाई २०१५ र एक्स व्लेडलाई २०१८ बाट बजारमा उतारेको थियो । यी दुबै मोटरसाइकलमा १६२.७१ सीसी क्षमताको सिंगल सिलिण्डर, इन्जिन दिएको छ । उक्त इन्जिनले १५ पीएस पावर र १४.५ एनएम टर्क प्रदान गर्छ ।
नेपालमा स्याकार ट्रेडिङले बिक्री वितरण गर्दै आएको यी मोटरसाइकल राम्रै बिक्री भइरहेको छ । अहिले नेपाली बजारमा होन्डा सिबी हर्नेटको मूल्य ३ लाख ६ हजार ९०० रुपैयाँ रहेको छ भने एक्स व्लेडको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ ।


