काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट आफ्ना जनप्रतिनिधि तथा कर्मचारीहरुलाई साइकल खरिदमा अनुदान दिने भएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण सार्वजनिक यातायात सञ्चालन चाँडै हुने सम्भावना नदेखेपछि साइकलको व्यवस्था गर्न लागिएको हो ।
साइकल प्रयोगलाई बढवा दिनपनि महानरले आफैँबाट काम सुरु गर्न लागेको हो । यसका लागि आवश्यक कार्यविधि बनाउने काम अहिले भइरहेको छ ।
महानगरले भौतिक दुरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साइकल प्रयोगलाई प्रोत्साहन गर्न लागेको महानगर अन्तर्गतका पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए ।
उनका अनुसार महानगरका सबै कर्मचारी र जनप्रतिनिधिलाई साइकल खरिदका लागि अनुदान दिन सम्भव नभएको भन्दै आवस्यकता हेरेर कुन स्तरका कर्मचारीलाई दिने त्यस अनुसार कार्यविधी बनिरहेको उनले बताए ।
‘महानगरका सबै कर्मचारीलाई एकै पटक साइकल दिन सम्भव छैन । महानगरमा १९ सय बढि कर्मचारी छन्, आवश्यकता हेरेर पहिलो चरण, दोस्रो चरण गरेर अनुदान दिने छौँ,’ थापाले भने ।
उनका अनुसार कार्यविधि बन्दा कति मूल्यको साइकल खरिद गर्दा कति प्रतिशत अनुदान दिइने, कुन पदका कर्मचारीलाई साइकलमा अनुदान दिने भनेर नगरसभाबाट छलफल गरि पास गरिने छ ।
उनले साउन १ गतेबाट लागु हुने गरी असार मसान्त भित्र सो कार्यविधि पास भइसक्ने उनले बताए ।
पहिलो चरणमा वितरणपछि सर्वसाधनलाई समेत साइकल खरिदमा केही अनुदानको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल गरिने उनले बताए । साइकल चलाउन सडकमा साइकल लेनहरुको निर्माणलाई समेत तिब्रता दिइने महानगरको योजना छ ।
‘साइकल खरिदमा अनुदान महानगरका कर्मचारी र प्रतिनिधिलाई मात्रै हैन, सर्वसाधनमा पनि पुर्याउने योजनामा छौँ, बजेट पास भएपछि कतिसम्म सम्भव हुन्छ त्यही अनुसार योजना निर्माण गर्ने छौँ,’ थापाले भने ।

