करोड माथिका कार किन्नेलाई यी हुन् ४ विकल्प

काठमाडौं । अहिले नेपाली बजारमा उपलब्ध करोड माथिका विद्युतीय कारमा सर्वाधिक सफल मोडल हुन्डाई आयोनीक-५ हो । सुरुमा १ करोडभन्दा कम मूल्यमा नै बजारमा आएको कारण यसले निकै राम्रो बजार पाएको थियो ।

अहिले आयोनीक-५ को मूल्य १ करोड २ लाख ९६ हजार रुपैयाँ छ । डिजाइन, फिचर र मूल्यको आधारमा आयोनीक-५ निकै राम्रो मोडल मानिन्छ । यसले क्रसओभर फ्यूचरस्टीक डिजाइनकै कारण विश्वका थुप्रै अवार्ड आफ्नो नाममा लेखाउन सफल भएको थियो ।

त्यसैगरी, टेस्ला मोडल थ्री पनि १ करोड माथि मूल्य पर्ने प्रिमियम कार हो । अमेरिकी ब्राण्ड टेस्लाको नयाँ मोडल थ्री १ करोड ३५ लाख मूल्य तोकेर बिक्री हुनेछ । नयाँ मोडल जनवरीमा मात्रै नेपाल आउने छ । प्रिमियम फिचर र उच्च ब्राण्ड भ्यालूकै कारण टेस्ला विश्व बजारमा प्रसिद्ध ब्राण्ड बन्न सफल भइसकेको छ ।

कियाले नेपाल ल्याएको ईभी-६ पनि १ करोड माथि पर्ने प्रिमियम क्रसओभर मोडल हो । स्पोर्टी डिजाइनमा बनेको ईभी-६ नेपालमा भर्खर बिक्री सुरु हुँदैछ । यसले कस्तो ग्राहक पाउने हो, त्यो भने हेर्न बाँकी नै छ । ईभी-६ को मूल्य १ करोड २६ लाख रुपैयाँ रहेको छ ।

बीएमडब्लूको आईएक्स-३ नेपालमा उपलब्ध सबैभन्दा महंगो विद्युतीय एसयूभी हो । लग्जरी ब्राण्ड बीएमडब्लूले यसको मूल्य २ करोड ३० लाख रुपैयाँ निर्धारण गरेर नेपालमा बिक्री गरिरहेको छ ।

ब्याट्री क्षमता र रेन्ज

टेस्लाले नयाँ जेनेरेशन मोडल ३ नेपाल ल्याएर बिक्री सुरु गर्दैछ । कम्पनीले यसमा ५७.५ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । बजारमा उपलब्ध महंगा गाडीमा सबैभन्दा सानो ब्याट्री मोडल थ्रीमा नै हो ।

यसले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

आयोनीक-५ मा पनि टेस्लाको भन्दा थोरै ठूलो ब्याट्रीमा उपलब्ध रहेको छ । यसमा ५८ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ३५० किलोमिटर रेन्ज दिन्छ ।

त्यसैगरी किया ईभी-६ मा ७७ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ५२८ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसले नेपाली सडकमा कति रेन्ज दिन्छ पुष्टि भएको छैन ।

मूल्य अनुसार सबैभन्दा महंगो बीएमडब्लू आईएक्स-३ मा ८० किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल चार्जमा ४८० लिकेमिटर रेन्ज दिने कम्पनीको भनाई छ ।

पावर

नेपाल सरकारले पावर अनुसार कर निर्धारण गर्दै आएकोले पर्फमेन्समा मात्रै होइन करको लागि पनि पावर बारे चासो हुनेगर्छ । पावरमा पनि सबैभन्दा ठूलो बीएमडब्लू आईएक्स-३ नै छ । यसमा २१० किलोवाट क्षमताको मोटर छ ।

त्यसैगरी टेस्ला मोडल थ्रीमा १७० किलोवाट, किया ईभी-६ मा १६८ किलोवाट र हुन्डाई आयोनीक-५ मा १२५ किलोवाटको मोटर रहेका छन् । बीएमडब्लू बाहेक अन्य तीन वटै ब्राण्डका ईभीमा समान कर लाग्छ ।


Back_to_top