काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले किङ्गलङ्गका १४ सिट क्षमताका इलेक्ट्रीक भ्यान एकैसाथ २५ ग्राहकलाई हस्तान्त्रण गरेको छ । कम्पनीले उपत्यकामा एक कार्यक्रम आयोजना गरी सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई २५ यूनिट माइक्रो भ्यान हस्तान्त्रण गरेको हो ।
यातायात व्यवसायीहरुको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीको उपस्थिति थियो । साथै, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार लगायतका व्यवसायीहरुको उपस्थिति थियो ।
सिजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे अनुसार यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा आफुहरु निकै उत्साहित रहेको बताए ।
‘हामी सम्पूर्ण सिजी मोटर्स परिवार अत्यन्तै हर्षित र गर्भान्वीत भएका छौं । सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रालिले देखाएको विश्वासको लागि हृदयबाटै धन्यवाद दिन चाहन्छौं । आगामी दिनहरुमा वहाँहरु जस्तै अन्य यातायात व्यवसायीहरुलाई पनि वातावरणमैत्री इलेक्ट्रीक माइक्रो भ्यानको प्रयोग गर्न प्रोत्साहन गर्न चाहन्छौँ’, महाप्रबन्धक पाण्डेले भने ।
पाण्डेका अनुसार डिजेल भ्यानहरुको तुलनामा इलेक्ट्रीक माइक्रो भ्यानहरुले थोरै खर्चमा धेरै आम्दानी गर्नेछन् । प्रति किलोमिटरको अपरेटिङ्ग कष्टको हिसाब गर्ने नै हो भने २ रुपैयाँभन्दा कम पर्नेछ ।
किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रीक कमर्शियल भेहिकलमा ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । साथै, गाडीमा इबीडीसहितको एबीएस, १८० एमएम क्षमताको ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता फिचर दिइएको छ ।
किङ्गलङ्गका यी भ्यानलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्छ । कम्पनीले काठमाडौंको पानीपोखरी शोरुमसँगै नेपालभर थप २१ वटा शोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा दिदै आएको छ ।
काठमाडौं उपत्यकाका तीन स्थानबाट सर्भिस सेन्टर उपलब्ध छ । कम्पनीले नेपालभर १८५ भन्दा धेरै स्थानमा चार्जिङ स्टेशन निर्माण गरेर संचलानमा ल्याएको छ ।

