२८ अर्व लागतमा बिस्तार हुँदै कञ्चनपुर-कमला सडकखन्ड

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडकखन्ड चार लेनमा विस्तार गरिने भएको छ । सडक विभागअन्तर्गतको एसियाली विकास बैंक (एडीबी) निर्देशनालयले यस सडकखन्डलाई विस्तार गर्न लागेको हो । 

निर्देशनालयका प्रमुख सुरेश पौडेलकाअनुसार सप्तरी र सिराहा जिल्लामा पर्ने कञ्चनपुर–कमला सडक दुईवटा प्याकेजमा विस्तार गर्न लागिएको छ । त्यसका लागि कञ्चनपुर–कुशाह खन्डको ४० किलोमिटर र कुशाह–कमला खण्डको ४६ किलोमिटरको दुई प्याकेज बनाइएको छ ।

यस्तो बन्नेछ सडक

यो सडक दायाँ र बायाँ दुई–दुई लेन गरी चार लेनको हुनेछ । दायाँ र बायाँ भागलाई एक–अर्काबाट छुट्याउन तीन मिटरको मेडियन (सडकको बीचमा छाडिने खाली भाग) बनाइनेछ । विस्तारित सडक दुईतर्फ सात–सात मिटरको हुनेछ । एउटा लेन साढे तीन मिटर चौडा हुनेछ । 

पातलो वस्ती भएका स्थानमा २४ मिटर चौडाईको सडक हुनेछ । 

निर्देशनालयकाअनुसार घनावस्ती क्षेत्रमा सडक ५० मिटरसम्म फराकिलो हुनेछ । सडकखन्डको छेउमा रहेका वस्तीका लागि ‘सर्भिस–लेन’ निर्माण गरिनेछ । १९.१ किलोमिटर सडकमा सर्भिस–लेन रहनेछ भने, दायाँ र बायाँ साढे ६ मिटरको हुनेछ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की बाटो पनि निर्माण गरिनेछ । मुख्य सडकको दुईतर्फ चार–चार मिटर ठाउँ हरियालीका लागि छुट्याइनेछ । साथै, सडकको दायाँ र बायाँ तीन/तीन मिटरको फूटपाथ निर्माण गरिनेछ । 

पातलो वस्ती भएका स्थानमा २४ मिटर चौडाईको सडक हुनेछ । उक्त खन्ड ६७.७ किलोमिटर लामो छ । सडक दायाँ र बायाँ दुई–दुई लेन गरी चार लेनको हुनेछ । दायाँ र बायाँ भागलाई एक–अर्काबाट छुट्याउनका लागि तीन मिटरको मेडियन बनाइनेछ । बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की बाटो पनि निर्माण गरिनेछ । 

ट्राफिक सुरक्षालाई विशेष ध्यान

विस्तारित सडकमा विशेष ट्राफिक सुरक्षा अपनाउने पनि निर्देशनालयले जनाएको छ । पौडेलकाअनुसार सडकमा आठ अन्डरपास, दुई ओभरपास, दुई पैदल यात्री पुल निर्माण गरिनेछ । अन्य स्थानको तुलनामा घनावस्ती भएकोे स्थानहरूमा ओभरपास बनाइनेछ । राजमार्गमा चल्ने गाडी ओभरपासबाट गुड्नेछन् भने स्थानीय सवारी ओभरपासको तलबाट चल्नेछन् । यो व्यवस्था नेपालमै पहिलोपटक ल्याउन लागिएको हो ।

बस स्टप पनि मुख्य सडकबाट अलिक दुरिमा निर्माण गरिनेछ । 

यसरी ओभरपास निर्माण गर्दा स्थानीय सवारीले राजमार्गका सवारी आवागमनलाई बाधा नपुग्ने निर्देशनालयले विश्वास लिएको छ । त्यस्तै, बस स्टप पनि मुख्य सडकबाट अलिक दुरिमा निर्माण गरिनेछ । त्यस्तै ठाउँ–ठाउँमा क्राश–बेरियर राखिनेछ भने सडकको बीचमा मेडियन राखिनेछ ।

त्यस्तै, सुरक्षाका लागि ट्राफिक लाइटहरूको पनि व्यवस्था हुनेछ । हालसम्म पूर्व–पश्चिम राजमार्गमा रातका लागि लाइट राखिएको छैन, तर अब भने यसको व्यवस्था हुनेछ । 

बजेट कति ?

निर्देशनालयले यो सडक विस्तार गर्न २५ करोड ६० लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान गरेको छ । त्यस्तै, सडक विस्तारका लागि एडीबीले १८ करोड ५० लाख अमेरिकी डलर ऋण उपलब्ध गराउने निर्देशनालयका प्रमुख पौडेलले बताए ।

पाटन उच्च अदालतले केही समय मूल्याङ्कन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ ।

एडीबीले ३२ वर्षका लागि १.५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने प्रतिवद्धतासमेत गरेको छ । सडक विस्तारका लागि अपुग सात करोड १० लाख अमेरिकी डलर भने नेपाल सरकारले लगानी गर्नेछ ।

कहिले बन्छ सडक ? 

सडक विस्तारका लागि निर्देशनालयले बोलपत्र माग गरिसकेको छ । उक्त खन्डको दुवै प्याकेजमा १४–१४ कम्पनीको प्रस्ताव परेको छ । आवेदक कम्पनी सबै चीनका रहेका छन् । स्वदेशी निर्माण व्यवसायीको क्षमताभन्दा माथिको शर्त बोलपत्रमा समावेश गरिएको आरोपमा यस विषयको मुद्दा परेको छ । पाटन उच्च अदालतले केही समय मूल्याङ्कन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । त्यसैकारण अहिले यो प्रक्रिया स्थगित छ ।

अदालतको फैलसापछिमात्र ठेक्का प्रक्रिया अघि बढ्ने पौडेलले बताए । उनकाअनुसार यो सडकखन्ड विस्तार गर्न तीन वर्ष लाग्ने अनुमान गरिएको छ । त्यस्तै, निर्माण सकिएको पाँच वर्षसम्म सडक मर्मत ठेकेदार कम्पनीले नै गर्नुपर्ने छ । 


Back_to_top