काठमाडौं । करिब १८ महिना अगाडि चीनमा युवान अप नामबाट बिक्री सुरु भएको बीवाइडीको एसयूभी नेपाल आइपुगेको छ । बढ्दो प्रतिस्पर्धासँगै बीवाइडीले अन्तर्राष्ट्रिय बजारमा एटो-टु नामबाट ल्याएको एसयूभी नेपालमा सार्वजनिक भएको हो ।
बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाडा अटो शो २०२५ मा एटो-टु सार्वजनिक गरेको हो । बीवाइडीका गाडीमा ब्यापक क्रेज चलिरहेको समयमा कम्पनीले ल्याएको एटो-टुले कस्तो ब्यापार गर्छ, त्यो थाहापाउन भने केही महिना कुर्नु पर्ने हुन्छ ।
चीनमा भने प्रि-बुकिङ खुल्ला भएको तीन दिनमा नै २० हजार युनिट बुकिङ भएको थियो । कम्पनीले एटो-थ्रीभन्दा केही सानो र हल्का डिजाइनमा तयार पारेको एटो-टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध हुनेछ ।
बीवाइडीले नयाँ एटो-टु एसयूभीलाई ५१ किलोवाट आवरको ब्याट्रीप्याक दिएर ल्याएको छ । डब्लूएलटीपीका अनुसार उक्त ब्याट्रीले सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा मोटर भने १०० किलोवाटको उपलब्ध छ ।

बीवाइडीको इ-प्लेटफर्म ३.० मा बनेको एटो-टु मोडलको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
फिचर लोडेड एसयूभीको रुपमा आएको एटो-टुमा सेमी हिडन डोर ह्याण्डल १७ इन्चको ह्वील पाउन सकिन्छ । डिजाइन, फिचर र मूल्य आकर्षक देखिएको एटो-टुले बजारमा प्रतिस्पर्धा भने दह्रो गर्नु पर्ने देखिएको छ ।
अहिले बजारमा ३७ लाखदेखि नै यही साइजका एसयूभी उपलब्ध छन् । एमजी एस-फाइभ, नामी-०६, केई एक्सथ्रीप्रो, लीपमोटरको बी-१० देखि दीपल एसओ-सेभेनसम्मका मोडलसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

