साउन १ देखि सवारीमा युरो-४ मापदन्ड लागु हुने

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि सवारीसाधनको प्रदूषण मापदण्ड स्तरोन्ती गर्ने भएको छ । सवारीसाधनले गर्ने प्रदूषण न्यूनिकरण गर्न २०६९ मा लागु भएको नेपाल सवारी प्रदूषण मापदण्ड-२०६९ स्तरोन्ती गरि नेपाल सवारी प्रदूषण मापदण्ड-२०७५ लागु गरिने भएको हो । 

युरो स्ट्यान्डर्डलाई नै आधार मानेर नेपाल सरकारले नेपाल सवारी प्रदूषण मापदण्ड तय गर्दै आएको छ । नेपालमा पहिलो पटक २०५६ सालमा सवारी आयातमा प्रदूषण मापदण्ड लागु भएको थियो । त्यसअघि नेपालमा सवारी आयात गर्न कुनै पनि वातावरणीय जाँच भएको हुँनु पर्दैन थियो ।  

२०५६ मा युरो-१ लागु भएको थियो । त्यसपछि युरो-२ लागु नभई नेपालले २०६९ मा युरो-३ (नेपाल सवारी प्रदूषण मापदण्ड-२०६९) लागु भएको थियो । २/३ वर्ष अघिदेखि नै प्रदूषण मापदण्ड स्तरोन्तीको कुरा उठेको थियो । 

तर चालू आर्थिक वर्षमा भने सरकारले स्तरोन्ती गरि कार्यान्वयमा गर्न कमिटि नै बनाएको थियो । उक्त कमिटिले प्रारम्भिक अध्ययन गरि सकेको जनाएको छ । सरोकारवालाहरु सँगको छलफल पछि मापदण्ड तय भएको हो । कमिटिका एक सदस्यका अनुसार अबको बैठकबाट मापदण्ड अन्तिम टुंगो लाग्ने र वातावारण मन्त्रालयलाई बुझाइने छ । 

बन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा पास गरि प्रकृया पुरा गरेर राजपत्रमा प्रकाशित गर्ने छ । राजपत्रमा प्रकाशित भएपश्चात नयाँ सवारी प्रदूषण मापदण्ड युरो–४ लागु हुनेछ । 


Back_to_top