काठमाडौं । उद्घाटन भएको दुई महिना बित्दापनि उपत्यकामा विजुलीका बसहरु सञ्चालनमा आउन सकेका छैनन् । गत कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले साझा यातायात पुल्चोकको प्राङ्गणमा निकै तामझामका साथ विजुली बसको उद्घाटन गरेका थिए । तर, दुई महिना अगाडि उद्घाटन भएपनि उक्त बसको प्राविधिक परिक्षण भने बल्ल सुरु भएको छ ।
विजुली बस उद्घाटन भएसँगै धेरैले भोलिपल्ट देखि नै उक्त बसमा चढ्न पाउने आशा राखेका थिए । तर, उक्त विजुली बसहरु अहिले साझा यातायातको प्राङ्गणमा थन्किएका छन् ।
बस र भ्यानको कुल मूल्य १८ करोड रुपैयाँ रहेपनि कोषलाई बिवाइडीले ६ करोड सहुलियत दिएर उक्त गाडी नेपाल पठाएको बिवाईडीको नेपालको आधिकारीक बिक्रेता साईमेक्स इन्कले जनाएको छ ।
चीनको बीवाईडी कम्पनीले निर्माण गरेको यी बसको मूल्य एउटाको दुई करोड रुपैयाँ हाराहारीमा रहेको छ । बिवाईडी कम्पनीले ५ वटा बस र ११ वटा इलेक्ट्रीक भ्यान लुम्बिनी विकास कोषलाई १२ करोड रुपैयाँमा बिक्री गरेको हो ।
यी बस र भ्यानको कुल मूल्य १८ करोड रुपैयाँ रहेपनि कोषलाई बिवाइडीले ६ करोड सहुलियत दिएर उक्त गाडी नेपाल पठाएको बिवाईडीको नेपालको आधिकारीक बिक्रेता साईमेक्स इन्कले जनाएको छ ।
विकास कोषले लुम्बिनी अन्तर्राष्ट्रिय बिमानस्थल नबनेसम्म थन्क्याएर राख्नुभन्दा उक्त बस उपत्यकाभित्र सञ्चालनमा ल्याउने भन्दै प्रधानमन्त्री ओलीमार्फत उक्त बस तामझमका साथ पुलचोकमा उद्घाटन गरिएको थियो ।
उपत्यकामा उक्त बिजुली बस सञ्चालनको जिम्मा साझा यातायातले लिएको छ ।
प्राविधिक चेकजाँचको प्रक्रियामा
बस सञ्चालनका लागि साझा यातायात र लुम्बिनी विकास कोषले सम्झौंता गरिसकेका छन् । तर, केही काम बाँकी नै रहेकाले तत्कालै सञ्चालनमा नल्याईएको साझा यातायातले जनाएको छ ।
साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार, अहिले उक्त विजुली बसहरु प्राविधिक चेकजाँचको प्रक्रियामा रहेका छन् । विजुली बसहरुको प्राविधिक चेकजाँचको काम भने अन्तिम चरणमा पुगिसकेको उनले मेरोअटोलाई जानकारी दिए ।
त्यस्तै, उक्त बसहरुको चार्जीङ स्टेशनहरु निर्माण कार्य पनि अहिले भैरहेको छ । साझाले आफ्नो कार्यलयमा नै चार्जिङ स्टेशनको व्यवस्था गरेको प्रवन्धक पान्डेयले बताए । यी बस चार्ज गर्न मिल्नेगरी देशभर करिब १३ स्थानमा बिवाईडीले चार्जिङ स्टेशन निर्माण गरेको जनाएको छ ।
‘हामीले हाम्रोतर्फबाट गर्नुपर्ने सम्पूर्ण कामहरु हामीले पुरा गरिसक्यौं, अब लुम्बिनी विकास कोषले गर्नुपर्ने केही कामहरु बाँकी रहेको छ’ पाण्डेयले भने ।
‘हामीले बिजुली बसहरु चार्ज गर्नका लागि चार्जिङ स्टेशन आफ्नै कार्यलयमा बनाएका छौं भने, अन्य स्थानमा पनि चार्जिङ स्टेशनहरु निर्माण भैरहेको छ,’ पाण्डेयले भने ।
विजुली बसहरु सञ्चालनमा ल्याउनु पूर्व प्राविधिकहरुलाई यस सम्बन्धि तालिम दिने काम समेत अहिले भैरहेको छ ।
‘हामीले बस सञ्चालनमा ल्याएपछि दक्षजनशक्तिको अभावमा बस पुनः बन्द गर्ने स्थितिमा जान नपरोस् भनेर अहिले दक्षजनशक्ति तयार गर्ने काम पनि गरिरहेका छौं ।’ पाण्डेयले भने ।
कहिले आउँछ सञ्चालनमा ?
काठमाडौं उपत्यकाभित्र सञ्चालनमा ल्याउन लागिएको विजुलीका बसहरु कहिले सञ्चालनमा आउँछन् भन्ने अझै टुङ्गो लागेको छैन । तर, बस सञ्चालनको लागि साझा यातायातले आफ्नो तर्फको सबै कामहरु पुरा गरिसकेको जनाएको छ ।
‘हामीले हाम्रोतर्फबाट गर्नुपर्ने सम्पूर्ण कामहरु हामीले पुरा गरिसक्यौं, अब लुम्बिनी विकास कोषले गर्नुपर्ने केही कामहरु बाँकी रहेको छ’ पाण्डेयले भने ।
उनले उक्त बसहरु कहिले सञ्चालनमा आउँछन् भन्ने, अहिले नै भन्न नसकिने बताए । तर, आफुहरु जतिसक्दो छिटो उक्त बसहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।
यस्तो छ बस
यी बस स्टार्ट गर्दा कुनै आवाज आउँदैन भने, धुवाँ पनि फाल्दैनन् । बसमा यात्रुहरुको सुरक्षाका लागि सीसी क्यामेरा र एसीको व्यवस्था गरिएको छ । यी बसहरु अपाङ्गतामैत्री रहेका छन् ।
यसमा ह्वील चियरलाई माथि उठाउन मिल्ने गरी लिफ्ट राखिएको छ । यात्रु बस्न मिल्ने २० वटा सुविधायुक्त सिटहरु रहेका छन् । त्यस्तै, उभिएर यात्रा गर्नका लागि बसमा स्ट्यान्ड ह्याँङ्गर दिनुका साथै मनोरन्जनका लागि टिभी पनि दिइएको छ ।

