बिना दर्ता चल्ने ई-स्कुटरको बिगबिगी, जोखिम बढ्दै

काठमाडौं । विगत १० वर्षदेखि नेपाली बजारमा बिभिन्न ब्रान्डका इलेक्ट्रीक स्कुटर बिक्री हुँदै आएका छन् । तर, ति मध्य धेरै स्कुटरहरुले प्राविधीक परीक्षणसमेत नगरी बिक्री वितरण गरिरहेका छन् ।

यातायात व्यवस्था विभागले स्कुटरको क्षमता परीक्षण पछि पास भएका स्कुटरलाई दर्ता नम्बर उपलब्ध गराउँदै आएको भएपनि दर्ता प्रकृयामा लान कम्पनीहरु इच्छुकसमेत बनेका छैनन् ।

‘हामीले राम्रा र सक्षम इलेक्ट्रीक स्कुटरलाई दर्ता गरेर नम्बर प्लेट उपलब्ध गराउने व्यवस्था गरेको भएपनि धेरै कम्पनीले आफ्ना उत्पादनको प्राविधीक परीक्षण गराउने गरेका छैनन्’, यातायात व्यवस्था विभागका टेक्नीकल डाइरेक्टर प्रेम सिंहले मेरोअटोसँग भने ।

यसरी दर्ता नगरीएका र परीक्षण नभएका स्कुटरहरु बिक्री हुँदा उपभोक्त ठगिने र जोखिम बढ्ने दुबै खतरा बढेको छ ।

सिंह भन्छन् ‘यसरी दर्ता नभएका स्कुटर किन्नु भनेको जोखिम निम्त्याउनु हो, त्यसमा हरेक उपभोक्त जागरुक हुन जरुरी छ’ ।

बिना परिक्षणका स्कुटरको बिगबिगी

यसो त बजारमा बिक्री हुने अधिकांस मोडलहरु बिना प्राविधीक परीक्षण बिक्री हुँदै आएका छन् । यसरी स्कुटर बिक्री गर्नेमा बेनलिङका स्कुटर, वेला मोटर, भि मोटो, योवाइके, बीएमसी, ओरेवा, इफनलगायतका कम्पनीका उत्पादन रहेका छन् ।

सुरक्षा चासो

चीनमा हरेक हप्ता इलेक्ट्रीक स्कुटर पड्केका घटनाहरु आउने गरेका छन् । गतहप्ता सडकमा गुड्दा गुड्दै इलेक्ट्रीक बाइक पड्केपछि संसारभर त्यसको चर्चा भएको थियो । यसरी कुनै परिक्षण बिना बिक्री वितरण भइरहेका स्कुटरको कुनै पनि रेकर्ड सरकारी संयन्त्रसँग नहुनेहुँदा खरिदकर्ताले भोलि भबितव्य पर्दा कुनै किसिमको सहयोग समेत पाउने छैनन् ।

इलेक्ट्रीक स्कुटरको नम्बर र बीमा दुबै पाईन्छ

यातायात व्यवस्था विभागले विगत एक वर्षदेखि इलेक्ट्रीक स्कुटरमा प्राविधीक परीक्षण पास भएका मोडलमा नम्बर प्लेट उपलब्ध गराउँदै आएको छ । बजारमा अहिले एनआईयूका स्कुटर नम्बर प्लेट लागेर गुडिरहेका छन् ।

त्यस्तै हिरो इलेक्ट्रीक र ओकिनवालेपनि आफ्ना केही मोडलको परीक्षण पास गरेका छन् भने केही मोडल परिक्षणको क्रममा रहेको जानकारी दिएका छन् ।

यसरी नम्बर प्लेट आएपछि अन्य बाइक तथा स्कुटर सरह बीमा गर्न बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । यस्ता व्यवस्था हुँदासमेत कम्पनीहरुले आफ्नो उत्पादनलाई दर्ता गर्न चाहिरहेका छैनन् ।


Back_to_top