१२ लाखमा बनाउन सकिन्छ इलेक्ट्रीक कार

काठमाडौं । नेपाली बजारमा ३ लाख रुपैयाँदेखि नै चल्तीमा रहेका कारहरु किन्न सकिन्छ । मारुती ८००, डाइहात्सु कोर, डेयू मार्टिज, सेभ्रोले स्पार्क, टोयोटा कोरोला, निसान सन्नी जस्ता कारहर किन्न सकिन्छ । यी कारलाई इलेक्ट्रीकमा सजिलै कन्भर्ट गर्न सकिन्छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट पुराना कारलाई इलेक्ट्रीकमा कन्भर्ट गर्न आवश्यक पाटर्सहरुको आयातमा सून्यदेखि १ प्रतिशत मात्रै भन्सार लिने व्यवस्था गरेको छ । त्यसैले यस्ता पाटर्सहरु ल्याउँदा धेरै राजश्व तिर्नु पर्ने छैन । यसअघि यस्ता पार्टशमा ५ प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो ।

अहिले नेपालमा पुराना कारलाई इलेक्ट्रीकमा कन्भर्ट गर्न विभिन्न क्षेत्रमा इन्जिनियरहरुले काम गरिरहेका छन् । उनिहरुले यसमा केही सफलता समेत प्राप्त गरेका छ ।

महाबिर पुनले राष्ट्रिय आविष्कार केन्द्र मार्फत पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीको साथ लिएर यस्ता पुराना गाडीलाई इलेक्ट्रीकमा परिवर्तन गर्ने काम गरिरहेका छन् ।

‘लाखौं रुपैयाँ खर्चेर ल्याएका गाडी २० वर्षपछि त्यसै फ्याक्ने गरिएको छ । यसलाई इलेक्ट्रीकमा रुपान्तरण गरेको खण्डमा अर्को १० वर्ष विना प्रदुषण चलाउन सकिन्छ’, पुनले भने ।

नेपालमा पुराना गाडी हजारौंको संख्यामा रहेको र त्यसलाई इलेक्ट्रीकमा रुपान्तरण गर्दा नयाँ गाडी किन्नु नपर्ने र वातावरण मैत्री पनि हुने देखेकाले आफुहरु यो अभियानमा जुटेको पुनको भनाई छ ।

अवश्यक मुख्य सामग्री

यसरी पुराना कारलाई इलेक्ट्रिकमा परिमार्जन गर्न चाहिने मुख्य सामाग्री मोटर, व्याट्री र विभिन्न वायरहरु हुन् । गाडीको अन्य पार्टसमा खासै ठूलो परिमार्जनको आवश्यकता पर्दैन ।

सामान्यतया यस्ता कारलाई इलेक्ट्रीकमा कनभर्रट गर्दा १३ देखि २५ किलोवाट आवरको व्याट्री प्रयोग गर्नु पर्ने हुन्छ । यसरी प्रयोग गरिने व्याट्रीलाई अगाडि इन्जिन भएको स्थानमा राख्न सकिन्छ । विद्युतीय गाडीमा इन्जिनको आवश्यकता नपर्ने भएकाले उक्त स्थान खाली गरेर व्याट्रीका सेल सुरक्षित तरिकाले राख्न सकिन्छ ।

यस्ता कारमा १९ किलोवाटदेखि ३५ किलोवाट क्षमताको मोटर प्रयोग गर्नु पर्ने हुन्छ । साना मारुती ८०० साइजका कारमा २० किलोवाट क्षमताको मोटर नै उपयुक्त हुने इन्जिनियरहरु बताउँछन् । हलुका र सानो साइजका कारमा दिइने १३ किलोवाट आवरको व्याट्रीले एक पटकको फुल चार्जमा १०० किलोमिटर भन्दा बढी रेञ्ज पाउन सकिने इन्जिनियरहरुको भनाई छ ।

ड्यासबोर्डलाई आधुनिक बनाउन सकिन्छ

यस्ता पुराना कारलाई इलेक्ट्रीकमा परिमार्जन गरेसँगै ड्यासबोड, ह्वील, सिट लगायत परिमार्जन गरेर आधुनिक बनाउन सकिन्छ । अहिले कारमा हुने इन्फोटेन्टमेन्ट सिस्टम, रिभर्स क्यामेरा लगायतका फिचरहरु यी पुराना मोडलका कारमा सजिलै हाल्न सकिन्छ ।

सरकारीबाट सुरुवात गरौँ

सरकारी कार्यालयमा हजारौ गाडी अलपत्र परेर बसेका छन् । संस्थानहरुसँग पनि ठूलो संख्यामा कारहरु रहेका छन् । ती कारहरुलाई इलेक्ट्रीकमा परिमार्जन गर्ने हो भने सजिलै प्रयोगमा ल्याउन सकिन्छ ।

सरकारले इलेक्ट्रीक कार बनाउन दिने हो भने हामी सजिलै ठूलो संख्यमा पुराना कारलाई इलेक्ट्रीक बनाउन सक्छौ भन्दै महाबिर पुनले भन्छन् ‘यसले पुराना गाडी प्रयोगमा आउँछ, नयाँ गाडी किन्ने रकमको बचत हुन्छ । तर, सरकारी मानिस यता ध्यान दिनै तयार देखिदैनन् ।’

यस्ता पुराना गाडीलाई राम्रो इन्जिनियरिङ ज्ञान भएका वर्कसपहरुले समेत सजिलै इलेक्ट्रीकमा कन्भर्ट गर्न सक्ने पुनको भनाई छ ।

लागत

अहिले अन्तर्राष्ट्रिय बजारमा व्याट्रीको मूल्य प्रति किलोवाट व्याट्रीको मूल्य २०० देखि २५० डलरसम्म रहेको छ । अधिकतम मूल्य २५० डलरको हिसावले ल्याउदा पनि १३ किलोवाट आवरको व्याट्रीको खर्च ३ लाख ९० हजार रुपैयाँ पर्छ ।

त्यसवाहेक मोटर, वायर लगायतका अन्य पार्टस आयात र यहाँ बनाउने खर्च ५ लाख लगाउने हो भने उत्कृष्ट इलेक्ट्रीक कार बन्ने छ ।

यसरी सुरुमा किनिएको पुरानो गाडीको मूल्यसहित जोड्दा १२ लाखमा उत्कृष्ट इलेक्ट्रीक कार चढ्न सकिन्छ ।


Back_to_top