काठमाडौं । सरकारले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर चलाएमा कडा कारबाही गर्ने भएको छ । सरकारका सबै उच्च अधिकारीले चढ्दै आएको सरकारी गाडीको नम्बर प्लेट अनिवार्य रुपमा सेतो बनाउनुपर्ने गरी प्रस्ताव मन्त्रिपरिषद् लैजाने तयारी गृह मन्त्रालयले गरेको छ ।
यसअघि माओवादी शसस्त्र द्धन्द्धमा सरकारी गाडीलाई रातो नम्बर प्लेट राख्ने सुविधा दिइएको थियो । त्यसयता उच्च पदस्त अधिकारीहरुले निजी नम्बर प्लेट राखेर सरकारी गाडीको दूरुपयोग गरेको गृहमन्त्रालयको ठहर छ ।
गृहका अनुसार यसरी सेतो प्लेट फेरेर रातो बनाई गाडी चढ्नेहरुमा विभिन्न संवैधानिक निकायका प्रमुख तथा सदस्य, अधिकांश मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक तथा विभिन्न आयोजना, परियोजना प्रमुखहरू छन् ।
रातो (निजी) नम्बर प्लेट युक्त सरकारी गाडीको अत्यधिक दुरुपयोग भएपछि गृह मन्त्रालयले कडाइ गर्न लागेको हो । तर एम्बोस्ड नम्बर प्लेट कार्यन्वयमा आएपछि भने सरकारी गाडीको नम्बर प्लेटनै रातो रंगको हुने छ ।
भर्खरै गृहमा सरुवा भएका सचिव प्रेमकुमार राईले यसअघि गृहसचिवले चढ्दै आएको रातो प्लेटको गाडीको नम्बर प्लेट सेतो बनाएर सुरुवात आफैंले गरेका छन् ।
यसअघिका प्रायःजसो सबै गृहसचिवले रातो प्लेटको गाडी चढ्दै आएका थिए । सरकारी उच्च अधिकारीहरूले आफूले पाउने सुविधाको गाडीको सेतो प्लेट फेरेर रातो बनाउने क्रम बढेको थियो ।
रातो प्लेट बनाएर सरकारी अधिकारीले सरकारी गाडीको निजी र घरायसी काममा अत्यधिक दुरुपयोग गरेको पाइएपछि नियन्त्रण गर्न गृहकार्य थालिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयलले सरकारी अधिकारी र संवैधानिक निकायका पदाधिकारीले सेतो प्लेट अनिवार्य प्रयोग गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद पठाउने तयारी गरेको छ । सेतो प्लेट हटाएर रातो बनाउनु दुरुपयोग गर्नु भएको गृहले ठहरसमेत गरेको छ ।
गृहका अनुसार यसरी सेतो प्लेट फेरेर रातो बनाई गाडी चढ्नेहरुमा विभिन्न संवैधानिक निकायका प्रमुख तथा सदस्य, अधिकांश मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक तथा विभिन्न आयोजना, परियोजना प्रमुखहरू छन् ।
सरकारी गाडीको दुरुपयोग गर्ने सरकारी उच्च अधिकारीको संख्या ५ सयदेखि १ हजारसम्म रहेको गृहको आँकलन छ । सरकारी अधिकारीहरुले यसअघि गाडीको सेतो प्लेट फेरेर रातो बनाउन गृहमा निवेदन दिने गरेका थिए ।
गृहले निवेदनका आधारमा सेतो प्लेट रातो बनाउन अनुमति दिएपछि यातायात व्यवस्था विभागले पनि सहजै सेतो प्लेटका सरकारी गाडीको नम्बर प्लेट रातो बनाउने गरेको थियो ।