भारतीय बजेट एयरलाइन्स इन्डिगोका संस्थापकहरु बीच गम्भिर मतभेद देखापरेको छ । यो मतभेद समयमै समाधान नभएमा एयरलाइन्सको सञ्चालनमै समस्या आउने आँकलन गर्न थालिएको छ ।
मतभेद मुलतः सेयरधनीहरुको सम्झौँता र दुई संस्थापकहरु राहुल भाटिया र राकेश ग्याङवालका बीचमा एयरलाइन्सको भावी रणनितीलाई लिएर भएको फरक बुझाइमा केन्द्रित रहेको छ ।
तर, सेयरधनीहरुको सम्झौतामा भएको मतभेदका बुँदाहरु भने अझै प्रष्ट रुपमा बाहिर नआइसकेको भारतीय मिडियाहरुले जनाएका छन् । संस्थापकहरु यो बिषयमा केही बोल्न चाहिरहेका छैनन् ।
दुई संस्थापक भने आफ्ना फरक बुझाईका कारण एयरलाइन्सको सञ्चालनमा बाधा नपुगोस भनेर गृहकार्य गरिरहेका छन् । ‘पछिल्ला केही साता मतभेद बढेकैै हुन् । तर कुनै औपचारिक कानुनी बाटो मै जानुपर्ने अवस्था भने आइसकेको छैन । र, विभिन्न विकल्पहरुमा छलफल भैरहेका छन् ,’ स्रोतले बताएको छ ।
‘खइतान एण्ड को’ र ‘जे सागर एसोसियट्स’ दुई संस्थापकहरु बीचका समस्या सुल्झाउन लागि परेका छन् । दुवै संस्थापक अहिलेसम्म अर्को संस्थापकको सेयर खरिद गर्ने वा एयरलाइन्स छाड्ने भन्ने निक्र्यौलमा पुगिसकेका छैनन् । दुई संस्थापक मध्ये ग्याङवाल युनाइटेड एयरलाइन्स र युएस एयरवेजका पुराना कार्यकारी हुन् र इन्डिगोलाई स्थापना गर्न र विश्वकै तिब्र गतिमा विस्तार भइरहेको एयरलाइन्स बनाउन उनको महत्वपूर्ण भूमिका छ ।
आक्रामकता विरुद्ध स्वभाविक वृद्धि
ग्याङवाल इन्डिगोको ‘रेकर्ड ब्रेकिङ’ प्लेन खरिद प्रक्रियाका पछाडि छन् । उनी भारतमा कम्पनीको आक्रामक विस्तार गर्दै विश्व बजार पनि छिचोल्न चाहन्छन् । यसका लागि उनले उच्च ब्यवस्थापनमा पनि धेरै परिर्वतन गरेका छन् ।
अमेरिकी नागरिक ग्याङवालले हालसम्म पर्दा पछाडिबाट नै काम गरिरहेका थिए । भाटिया अग्रपङक्तिमा थिए । र, एयरलाईन्सको विस्तार र कानुनी पाटोहरु सम्हाल्दै आएका थिए । सुत्रका अनुसार ग्याङवाल एयरलाइन्सको विस्तारमा यति तल्लिन हुन चाहन्थे कि शुरुमा उनले कम्पनीको बोर्डमा बस्न समेत आनाकानी गरेका थिए ।
तर, विगत २ वर्षमा केही समस्याहरु देखा पर्न थाले । ग्याङवाल भारतको हवाई क्षेत्रमा रहेको अवसर छोप्न अत्यन्तै आक्रामक हुन चाहन्थे भने भाटिया स्वभाविक बृद्धिमा जोड दिन्थे ।
गत वर्ष फेब्रेवरीमा ग्याङवालले सन् २०१९ मा इन्डिगोको क्षमता ५२ प्रतिशतले वृद्धि हुने बताएका थिए । र, प्लेनहरुको संख्या १५५ बाट २५० पु¥याउने जनाएका थिए । तर, अध्यक्ष आदित्य घोषसँगै उच्च ब्यवस्थापनका अधिकांशले यसको विरोध गरेका थिए । यो निर्णयले कम्पनीको नाफा घट्नुका साथै अधिक क्षमताको समस्या आउने उनीहरुको तर्क थियो ।
तर, ग्याङवाले भारतमा विद्यमान अवसर हेर्दा ५०० वटा प्लेनको संख्या पनि कम हुने भन्दै आफ्नो बचाउ गरेका थिए । परिणाम स्वरुप घोषले राजिनामा दिए । इन्डिगोसँग हाल २२५ वटा प्लेन छन् ।
दुवै संस्थापकलाई कम्पनी अर्को छलाङ लगाउने उचित बिन्दुमा भएको विश्वास छ । जेट एयरवेज र एयर इन्डिया संर्घषरत रहेको बेला उनीहरु त्यो ‘ग्याप’ पुर्ती गर्न अवसर रहेको तथ्यमा सहमत छन् । तर, यो अवसर कसरी छोप्ने भन्ने सन्दर्भमा भने उनीहरुबीच फरक बुझाई रहेको छ ।
भाटिया आफ्नो अन्र्तराष्ट्रिय उडानको सपना ‘वाइड बडी’ मार्फत गर्नेमा खुल्ला छन् । तर, ग्याङवाल एकै खाले बजेट प्लेन उडाउनेमा विश्वास गर्छन्, जुन भनेको ‘न्यारो बडी एअरबस ए३२०’ हो । यसो गर्दा लामो उडानहरु भर्न समस्या पर्छ । तर, यो समस्या सुल्झाउन ग्याङवाल अन्य विदेशी एयरलाइन्सहरुसँग साझेदारी गर्न चाहन्छन् । परिणाम स्वरुप, इन्डिगोले अहिले वाइड बडीहरु किन्ने योजनालाई थाति राख्दै टर्किस एयरलाइन्ससँग ‘कोडसेयर’ सम्झौता गरेको छ ।


